डोल्पामा आयोडिनयुक्त नुन अभाव
![डोल्पामा आयोडिनयुक्त नुन अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/nun_y2Jgv0Pvm1_4szxjmmah4kmkqdumqvzrp96xj4g2hdgmdnohcyqji3t4gbmwhmperp18iay_v0oNZH6Xcv_9gupj0antivdgoxljbcm7fy8jgir04bsuwecqmihpsfyygdl9gg3k7dbvfor.jpg)
डोल्पा- डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ । सदरमुकामस्थित डिपोमा ४९० क्विन्टल आयोडिनयुक्त नुनमात्र मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताउनुभयो । उहाँका अनुसार यो नुन अत्यन्तै न्यून हो । जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले पाँच पोका दिने गरेको प्रमुख धामीले बताउनुभयो ।
सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपो रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्षदेखि एक पोका नुन ढुवानी भएको छैन । चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि पाँच वर्षदेखि नुन ढुवानी हुन नसकेको धामीले बताउनुभयो ।
गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकामस्थित डिपोमा नुन लिन पुग्दा समस्य भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी राजिमान बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातिर छ भने अर्कोतिर सदरमुकाम दुनैस्थित साल्ट ट्रेडिङले प्रति परिवार दुई पोकाका दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको दुई पोका नुन खरिद गर्न दुईदेखि तीन हजार रुपैयाँसम्म खर्च हुने हुने गर्छ ।”
यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिनु परेको हो । सदरमुकाम दुनैबाहेक पाँच वटै बिक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।
प्रतिक्रिया