श्रीमतिद्वारा भड्डू प्रहार गरी श्रीमानकाे हत्या

श्रीमतिद्वारा भड्डू प्रहार गरी श्रीमानकाे हत्या

दैलेख – दैलेखमा शनिबार राति एक महिलाले भड्डूले टाउकोमा प्रहार गरी श्रीमानकाे हत्या गरेकी छन् । प्रहरीका अनुसार नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले आफ्ना श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन् । 

‘छोराछोरीले बताए अनुसार पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डूले श्रीमति हानी छन् अनि दाउराले पनि टाउकैमा हानी छन् । अत्याधिक रगत बगेर श्रीमान् चाहिँको ज्यान गएछ’ जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले भन्नुभयो । 

श्रीमति चाहिको पनि मुखमा निलडाम छ, पहिले श्रीमानले हात छोडेपछि साँझ खान नखाँदै ढेडो पकाएको भड्डूले टाउकैमा बजारेर हत्या गरिछन् डीएसपी लम्सालले बताउनुभयो । प्रहरीले राति नै मृतक शव दैलेख अस्पताल पु¥याएको र आरोपित सीतालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । 

‘दुबै जना जाँड खाएर लठ्ठ परेको बेला कुन कुराले विवाद भयो ? थाहा भएन । श्रीमति पनि घाइते छिन्, श्रीमान चाहिँ ज्यान गयो’ नौमूले गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रलाल बस्नेतले भन्नुभयो । भीमबहादुर र सीताको विवाह भएको १६ वर्ष अवधिमा दुई छोरा र एक छोरी छन् । भीमबहादुरकी जेठी श्रीमति १९ वर्ष अघि अन्यत्र विवाह भएको र जेठीबाट जन्मेकी छोरीको विवाह भइसकेको छ । 

नौमूले गाउँपालिका विकासको हिसावले पछाडि परेको र जनजाति बाहुल्यता भएको पालिका हो । दैलेखका अरु पालिकाहरुका तुलनामा सचेतनाको कमी र मदिराको उन्मादमा हिंसात्मक घटना हुने गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरू भएकै दिन शनिबार यो घटना भएको छ । 

प्रतिक्रिया