बालमैत्री कक्षामा रमाउँदै बालबालिका

बालमैत्री कक्षामा रमाउँदै बालबालिका


निर्मल अधिकारी, 
जाजरकोट –  भुकम्पले घर र विद्यालय भत्किएपछि निरास भएका बालबालिकालाई बालमैत्री केन्द्रले आशा जगाएको छ । बालबालिकाहरु हरेक दिन केन्द्रमा सहभागी हुन्छन् र रमाईलो गर्छन ।  रमाईलोसँगै उनीहरुको सिकाईलाई पनि सहयोग पुगेको छ भने विस्तारै भुकम्पको मनोवैज्ञानिक त्रासबाट मुक्त हुदैछन । 

भुकम्पका पराकम्पनहरु नियमित गईरहेकाले बालबालिकाहरुलाई आफु उभिएको जमिन हल्लिरहेको जस्तो लागिरहन्थ्यो । नजिकै भत्किएका घरहरुले जिस्काउँथे । वस्ति पुरै उजाड थियो । ति बालबालिकाहरु आरामदायी बसोबासबाट टहरामा वस्ती सर्दा त्रासै त्रासमा दिन विताउन बाध्य हुन्थे । चर्किएका घर र विद्यालयका भित्ताबाट डराएका बालबालिकाहरुलाई न त विद्यालय जान सहज थियो न त दिनभरी घरमै वस्न सुरक्षित महसुस गर्थे । त्यो कलिलो बालमनोविज्ञानमा परेको असर हटाउन पक्कै सहज थिएन् । 

पश्चिम रुकुमको आठविसकोट नगरपालिका वडा नं १४ को छेपारेमा स्थापना गरिएको बालमैत्री केन्द्रमा बालबालिकाहरु सहभागी हुन सुरु गरे । बालबालिकालाई सुरक्षित महसुस गराउन र सिकाईलाई निन्तरता दिनका लागि स्थापना गरिएको उक्त बालमैत्री केन्द्रमा पहिलो पटक २६ जना बालबालिका सहभागी भए । दिनभरी त्यतिकै बसेर समय विताउने गरेका ति बालबालिकाहरुको लागि बालमैत्री केन्द्र सुरक्षित र रमाईलो गर्ने स्थान भयो । घरमा असहज महसुस महसुस गर्ने ति बालबालिकाहरु केन्द्रमा रमाउन थाले । अहिले ति बालबालिकाहरु टहरामा भन्दा केन्द्रमा रमाईलो मान्ने गर्दछन । 

उक्त केन्द्र विहान र  वेलुका दुई चरणमा सञ्चालन गरिन्छ । वडा नं १४ कि कर्मा वि क. भन्नुहुन्छ, घरको कामले गर्दा अभिभावकहरु घरमा वस्न पाउदैनन् । अभिभावकको हेरचाह नहुदाँ छाडा खेल्ने गरेका बालबालिकाहरुले राम्रोसँग सिक्न पाएका छन । उहाँले थप्नुभयो्, टहरामा पनि पढ्ने वातावरण छैन् । त्रिपालबाट चुहिएको सितले विहान सबै कपडा भिजेका हुन्छन् । सानो टहरा । त्यसै टहरामुनि ५र६ जनाको बसाई । खाना पकाउने, सुत्ने अनी बालबालिकालाई अध्ययन गर्ने ठाउनै हुदैन् । कम्तिमा पनि ४/५ घण्टा रमाउन अनि पढन पाएका छन हामीलाई असाध्य खुसी लागेको उनले बताईन । उक्त केन्द्रमा विभिन्न उमेर समुहका बालबालिका सहभागी हुने गर्दछन् । कहिले काहि त दिन भरी पनि केन्द्र सञ्चालन गरिन्छ । बालबालिका केन्द्रमा आउछन्, छलफलमा सहभागी हुन्छन्, रमाईलो गर्छन् जस्ले गर्दा भुकम्पको पिडा भुलाउन सहयोग गरेको छ । 

विद्यालय जान मन नपराउने बालबालिकाहरु बालमैत्री केन्द्रमा आउन सुरुवात गरेको सानोभेरी–४, बलीवाङ्गकी जमुना पोख्रेलको भनाई थियो । उहाँले थप्नुभयो,' केन्द्र बालबालिकाहरुलाई सुरक्षित लाग्छ । त्यहि भएर हामीले बालबालिकालाई केन्द्रमा पठाउने गरेका छौं । यहाँ आएपछि उनीहरुलाई डरको महसुस हुँदैन र केही सिकेर घर जान्छन् ।' 

बाल विकासमा अध्ययन गर्ने बालबालिकाहरु उक्त केन्द्रमा सहभागी हुने गरेको बाल विकास केन्द्रका शिक्षक बसन्ता शाहको भनाई छ । भुकम्पका झड्काहरु नियमित महसुस भईरहने भएकाले विद्यालय जान डराउने बालबालिका केन्द्रमा सुरक्षित महसुस गर्ने शाहले बताउनुभयो । उनले थपिन्, बालबालिका भुईमा बस्छन् । भुईमा बस्दा भुकम्पको झड्का कम महसुस हुदोरहेछ । भुकम्पको महसुसनै नगरेपछि विगत भुलाउन पनि सहज भएको छ । उक्त केन्द्रमा २५/३० जना बालबालिका नियमित अध्ययन गर्ने गरेका छन । 

सोसेक नेपाल र युनिसेफको साझेदारीमा ४ वटा बालमैत्री केन्द्रहरु सञ्चालन गरिएको छ । जुन रुकुमको सानीभेरी नगरपालिका वडा नं १ को चाईना बगर र वडा नं ४ को बलीवाङ्ग, आठविसकोट नगरपालिका अन्तर्गत वडा नं १४ को छेपारे र ज्यामिरकोटमा रहेका छन । केन्द्रमा बालमैत्री सिकाई सामाग्रीको व्यवस्था गरिएको छ । 


 

प्रतिक्रिया