सल्यानमा बृहत सल्यान महोत्सव सुरु
सल्यान – सल्यानमा बिहीबारदेखि बृहत सल्यान महोत्सव २०८० सुरु भएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा उद्योग व्यापार, कृषि, पशु वन तथा सल्यानको शान,मौलिक कला संस्कृति संरक्षण प्रतिष्ठानको अभियान भन्ने मुल नाराका साथ सांस्कृतिक झाँकीहरुको र्याली सहित उद्घाटन भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएको महोत्सवको उद्घाटनको पहिलो दिन आज सल्यानका विभिन्न मौलिक नाचहरु पैसेरू, दमाहा नाँचको झाँकी प्रदर्शनी सहित महोत्सवको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले महोत्सवले समग्र सल्यान र कर्णालीको कृषि, पशु तथा घरेलु उत्पादित बस्तुहरुको बजारिकरण र प्रचारप्रसारमा उल्लेखनीय भुमिका हुने बताउनुभयो । उहाँले कला सांस्कृति र घरेलु उत्पादित बस्तुहरुको प्रवर्द्धन गर्न पनि सबैलाइ आग्रह गर्नुभयो ।
सल्यानमा कलाघर निर्माणका लागि महोत्सवको आयोजना गरिएको मेला व्यवस्थापक एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम नारायण विकले जानकारी दिनुभयो । यसका साथै लोपोन्मुख मौलिक कला संस्कृतिको प्रदर्शन गरि संरक्षण गर्ने, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने उहाँले जानकारी दिनुभयो । महोत्सव अवधिभर ५० लाख बराबरको कारोवार हुने र ३० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी छ ।
प्रतिक्रिया