चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा
![चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/School_GMNahkTDDk_wshzmw02ncew4jvnqpvwtcn7rjeuidgw6xax7kxnoy8njjd45ymnyobp6s1k_NVuLgFIOtF_kr02qodhxbwhvyf6shxe78jeroa2i9a0l4yhwclixlidga5ny83wisbscrea_GlmSYOvF0U_do1tkdwscnauajhu7kkzbytf8h18be0fptpchakbqmnh4cksfiia7fjc2gnr_Mi5eOxxcm6_id4bhtbe0c3qy7d3s87zubxek7gk2p1dpxi50m7hzmncqmkllzdn7bpbkakm_FRmFeX9ZxR_nwnjelycps11djj64938wwas3tcdbbzknn9dhctxlgkg7gtrs8ti1oh0si54.jpg)
सिमकोट – चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो ।
जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले बताउनुभयो । नियमानुसार हिमाली जिल्लाका विद्यालयमा हिउँदयाममा अत्यधिक जाडो हुने भएकाले वार्षिक परीक्षा सकेर पुस–माघमा बिदा दिने चलन छ । तर यस वर्ष ढिलागरी शैक्षिकसत्र सुरु भएकाले एक महिनामात्रै बिदा दिइएको उहाँले बताउनुभयो ।
जिल्लाभरि एक सय ५१ विद्यालयमा पठनपाठन बन्द भएको छ । हुम्लामा एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालय छन् । जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ र ताँजाकोटमा १६ विद्यालय छन् ।
एकाइका निमित्त प्रमुख खत्रीका अनुसार हिमालपारिको लिमीका दुई सामुदायिक विद्यालय गत कात्तिक अन्तिममै बन्द भएका थिए । हल्जी र जाङ्गगाउँका विद्यालय बन्द भएका हुन् । तीन गाउँ रहेको लिमीमा प्रत्येक गाउँमा एक–एक आधारभूत विद्यालय छन् । जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने हालसम्म भएको छैन ।
प्रतिक्रिया