गाईभैंसी पालक कृषकलाई प्रविधि तालिम

गाईभैंसी पालक कृषकलाई प्रविधि तालिम

दैलेख – पशु अस्पताल तथा पशु सेवा कार्यालयले गाईभैंसी पालक कृषकहरुलाई आधुनिक प्रविधि र व्यवसायिक पशुपालन विषयक तीन दिने तालिम दिएको दिएको छ । दैलेखका ११ वटै स्थानीय तहका गाईभैंसी पालन व्यवसायमा जुटेका ७ महिला समेत २३ जना कृषकहरुको सहभागिता थियो । 

जिल्ला सदरमुकाम दैलेखमा बुधबार तालिम समापन कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर बिष्टले व्यवसायिक कृषि गरिरहेका कृषकहरुलाई व्यववसाय प्रवद्र्धनमा श्रोतको अभाव नभएको बताउनुभयो । 

त्यसबखत तालिमका सहकर्ता नायव पशु स्वास्थ्य प्राविधिक सरोज पन्तले दूधको माग बढे अनुसार आधुनिक प्रविधिबाट कृषकहरुले उत्पादन बढाउन आग्रह गर्नुभयो । सहभागीहरुका तर्फबाट भैरबीका कृषक भूपति आचार्यले गाईभैंसी पालन व्यवसाय परिश्रम जति आम्दानी हुन नसकेको दुखेसो सुनाउनुभयो । 

तालिममा कार्यालय प्रमुख बिष्ट, नायव पशु स्वास्थ्य प्राविधिक पन्त, तालिम संयोजक नायव पशु सेवा प्राविधिक प्रजापति भट्ट, पशु सेवा प्राविधिकहरु रुकमणी केसी, कृष्णप्रसाद उपाध्याय र लेलिन अधिकारीले कृषकहरुलाई गाईभैंसी पालन व्यवसायका लागि आधुनिक प्रविधि विषय सहजीकरण गर्नुभएको थियो । 

उन्नत जातको गाईभैंसीको छनौट तथा प्रजनन् प्रणाली, भरखर जन्मेका बाछाबाक्षी तथा पाडापाडीको हेरविचार, गोठ सुधार तथा आहारको व्यवस्था, रोग तथा परजिबी नियन्त्रण तथा उपचार, चरन र आधुनिक घाँसको व्यवस्था, पशुपंक्षी विमा लगायतका विषयमा तालिम दिइएको तालिम संयोजक भट्टले बताउनुभयो । 

प्रतिक्रिया