इलाम-२ उपनिर्वाचन : मतदानमा महिला सहभागिता उत्साहजनक
इलाम - इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी ७९ वर्षीया ज्येष्ठ नागरिक महिला गङ्गादेवी राई बिहानै लठ्ठी टेक्दै नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुग्नुभयो । ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने भएकाले स्वयम्सेवकले प्रवेशद्वारबाटभित्र मतदानस्थलमा प्रवेश गराउनुभयो । उहाँले आफूले मन परेको उम्मेद्वारको चिन्हमा मतदान गरेर बाहिर निस्कनुभयो ।
“यतिका उमेरसम्म दर्जनौँ पटक मतदान गरियो, आफूले मतदान गरेकाले जितेर पनि गए, तर गाउँको विकास भएन,” उहाँले भन्नुभयो, “यस पटक पनि मैले मत दिएको उम्मेद्वारले जितोस्, तर यस पटक जितेर गएकाले गाउँमा विकासको चाँही गर्नुपर्छ ।” गाउँमा बिजुली, खानेपानी र बाटोघाटोको समस्या समाधान गर्नुपर्ने उम्मेद्वारसँग उहाँको अपेक्षा छ ।
माङसेबुङ गाउँपालिका-२ डाँडागाउँकी अर्की एकल महिला आशमति लिम्बूले पनि उत्साहका साथ मतदान गर्नुभयो । पञ्चायतकालदेखि मतदान गर्दै आउनुभएको उहाँले राम्रो मान्छे जिताउन मतदान गर्न आएको बताउनुभयो । लठ्ठीको सहारामा आधा घण्टा पैदल हिँडेर मतदान केन्द्रसम्म आइपुग्नुभएकी उहाँले बेलाबेलामा मतदान गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गरेको बताउनुभयो । “आफूलाई मन परेको उम्मेद्वारले जितोस् भन्न सधैँ मतदानमा सहभागी हुने गरेकी छु,” उहाँले भन्नुभयो, “यसरी बेलाबेलामा मतदान गर्न पाउँदा भाग्यमानी ठान्दछु ।”
माङसेबुङ गाउँपालिका-३ सुवाचेनकी ८१ वर्षीय वृद्ध नारायणश्वरी राईको भनाइ पनि उस्तै थियो । “उम्मेद्वारमध्ये राम्रो र योग्य मान्छेलाई जिताउन मतदान गर्न आएकी छु,” उहाँले भन्नुभयो, “राम्रो र योग्य उम्मेद्वार जिताउन मेरो एक मत अमूल्य रहन्छ ।”
उल्लेखित पात्रहरु प्रतिनिधि उदाहरण मात्र हुन् । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज जारी मतदानमा महिला मतदाताको उपस्थिति उत्साहजनक रहेको छ । बिरामी, अशक्त, वृद्धवृद्धाले अप्ठ्यारोसमेत बिर्सेर उपनिर्वाचनमा मतदान गर्न मतदान केन्द्रमा पुगेका छन् । महिला मतदाताको सक्रिय उपस्थिति देखिएको थियो ।
त्यस्तै माङसेबुङ गाउँपालिका-२ स्थित इभाङ माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि स्थानीय ८४ वर्षीया वृद्धा मैतमाया लिम्बूलाई निर्वाचनको रोनक निकै मन प(यो । “सबै एकैठाउँ भेला भएको देख्न पाएँ, यसरी बेलाबेला निर्वाचन आउँदा त खुब रमाइलो लाग्छ,” उहाँले भन्नुभयो ।
यस निर्वाचन क्षेत्रमा कूल मतदाता एक लाख १५ हजार आठ सय ८९ रहेकोमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई तेस्रो लिङ्गी मतदाता छन् । यहाँ तोकिएका ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ । यसैबीच ५२ प्रतिशत मत खसेको छ । दिउँसो ३ः३० बजेसम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको छ ।
खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराइएको हो ।
प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएमा उपनिर्वाचनबाट पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।
प्रतिक्रिया