गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै

गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै

नेपालगञ्ज - नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनी बस्ने, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायत)लाई सचेत गराउन थालिएको छ । उहाँहरुलाई गर्मी र तातो हावाबाट बच्न सचेतना तथा जागरण फैलाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँकेले स्वयंसेवक समेत परिचालन गरेको छ । 

चार दिनसम्म नेपालगञ्ज उमहानगरपालिका–२१ र २२ मा तातो हावाको उच्च जोखिममा रहेका परिवारलाई सचेतना तथा जागरणको काम गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी, बाँकेका उपनिर्देशक दोलख डाँगीले जानकारी दिनुभयो ।

उहाँले अपाङ्गता भएका   व्यक्तिको घर–घरमा पुगी सूचना दिने र तातो हावाको लहरको जोखिमबाट घरायसी रुपमा गर्न सकिने सामान्य सावधानी तथा गर्मीको कारण हुने बिरामीको लक्षण देखिएमा गर्नुपर्ने उपचारको बारेमा सूचित गरिने बताउनुभयो ।  यसका लागि दुई वडामा ६ स्वयंसेवक परिचालन गरिँदै छन् ।  

अमेरिकी रेडक्रस, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त साझेदारीमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर लू प्रतिकार्य कार्यक्रम सञ्चालनमा छ । उपनिर्देशक डाँगीले चार दिनसम्मको अवस्था हेरेर पुनः अन्य वडामा पनि सो कार्यक्रम सञ्चालन हुने उल्लेख गर्दै यसबाट किसान, श्रमिक वर्ग, पिछडिएको वर्ग र ज्यालादारीमा काम गर्ने वर्ग सबैभन्दा बढी लाभावन्वित हुने बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका आपतकालीन कार्यव्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्मी दिनप्रतिदिन बढ्दै गएकाले श्रमिक वर्गका लागि नेपालगञ्ज–२ को रानीतलाउ नजिक कुलिङ सेन्टर निर्माण गर्न लागिएको जानकारी दिनुभयो । 

जल तथा मौसम विज्ञान विभागले आगमी पाँच दिनसम्म निरन्तर तापक्रम बढ्ने जनाएको छ । दिउँसो गर्मी र तातो हावाका कारण नेपालगञ्जको जनजीवन प्रभावित भएको छ । 

प्रतिक्रिया