ठाँटीकाँध र आठबीसमा छाउ गोठ हटेनन्

ठाँटीकाँध र आठबीसमा छाउ गोठ हटेनन्
सुन्नुहोस्

दैलेख – ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिका छाउ गोठ अझैं हट्न नसकेको स्थानीयले बताएका छन् । दलका नेता, जनप्रतिनिधि कर्मचारीहरु दिउँसो समानताको भाषण गर्छन् तर साँझ घर पुग्दा छोरीबुहारीलाई आगन आउन दिंदैनन् स्थानीयले भनेका छन् । 

नागरिक समाज संस्थाहरुको सहकार्यमा जिल्ला प्रशासन कार्यालय दैलेखले आज ठाँटीकाँध र आठबीस नगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो सवाल उठेको हो । सहभागीहरुले महिला माथि हुने घरेलु हिंसा, छाउपडी प्रथा, बहुविवाह, बलात्कार घटना पनि मुख्य समस्या रहेको औंल्याए । 

‘अधिकारको कुरा गर्छु, अरुलाई सिकाउँछु तर मैंले महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य छु । समाजले प्रश्न गर्छ भनेर घरपरिवारले आगनमा टेक्न दिंदैनन्’ ठाँटीकाँधको कृष्ण मावि लकान्द्रको बाल क्लवकी अध्यक्ष रञ्जना बोगटीले दुखेसो सुनाउनुभयो । 

आठबीस नगरपालिका–४ की वडासदस्य पानसरा माझीले भन्नुभयो ‘२०७६ मा प्रशासनले छाउगोठ भत्काएको बेला घरको ओटाली (वाहिरपट्टिको कोठा)मा बस्न पाएका थिए । कोरोनाले छाउगोठ भत्काउने अभियान रोकियो फेरि उस्तै भयो ।’

ठाँटीकाँध गाउँपालिका–६ पाचलाका बाल क्लवमा आवद्ध भूपेन्द्र बिकले भन्नुभयो बालबालिका माथि भएका दुव्र्यवहार, लागू औषध दुव्र्यवसनी, जातीय विभेद लगायतका सामाजिक समस्या हट्न सकेका छैनन् । आठबीस नगरपालिका–७ को बीरेन्द्र मावि तर्कुकी छात्रा बिनिता कठायतले भन्नुभयो हामी दिउँसै एक्लै हिंडडुल गर्न असुरक्षित छौं । 

आठबीस नगरपालिका–५ का वडाध्यक्ष बजिरसिंह बिकले महिला माथि हुने हिंसा, जातीय विभेद र बालबालिका माथि हुने दुव्र्यवहार कमी आएको तर पूर्ण रुपमा हट्न नसकेको बताउनुभयो । ठाँटीकाँध गाउँपालिका–१ का वडाध्यक्ष चक्र कामीले भौतिक विकास भए जस्तो चेतनास्तर उठाउन नसकिएको स्वीकार गर्नुभयो । 

ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरतबहादुर बमले भन्नुभयो ‘गैरसरकारी संस्थाहरुको अग्रसरतामा सामाजिक कुरीति र कुसंस्कार बिरुद्ध सचेतना बढेको उल्लेख गर्दै यस निम्ति संस्थाहरुलाई धन्यवाद दिनैपर्छ । बाल क्लवहरुको परिचालन अझैं प्रभावकारी भएको छ’ उहाँले भन्नुभयो ।


 

कार्यक्रममा सहजीकरण गर्दै दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले सामाजिक सवालहरु समाधानको निम्ति स्थानीय सरकारले तत्परता जरुरी रहेको बताउनुभयो । जिल्लाका ११ वटै पालिकामा गरिएका यी छलफल कार्यक्रमका आधारमा सामाजिक चेतना उठाउन कार्यक्रम बनाउन सरोकारवाला पक्षको ध्यानाकर्षण गरिने प्रष्ट्याउनुभयो । 

अधिकारकर्मी पत्रकार अमर सुनारले दण्डहीनताको अन्त्य गर्न समुदाय स्तरसम्म सचेतना आवश्यक रहेको बताउनुभयो । अधिकारकर्मी जीवराज रेग्मीले महिला तथा बालबालिकाको सवालमा समाज अझैं सम्वेदनशीले हुनुपर्ने प्रष्ट्याउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पालिकाका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, अधिकारकर्मीहरु समेतको सहभागिता रहेको थियो । समाजमा विद्यमान कुरीति, कुसंस्कार, भेदभाव, असमानता समस्या समाधानका उपाय बारे सहभागीहरुले सुझाव राखेका थिए । कार्यक्रमपछि राकममा सचेतना र्‍याली प्रदर्शनी समेत गरिएको थियो । 


 

प्रतिक्रिया