खोलामा डुबेर बालकको ज्यान गयो

खोलामा डुबेर बालकको ज्यान गयो साँकेतिक तस्बिर

दैलेख - खोलामा पौडी खेल्दा एक बालकको डुबेर ज्यान गएको छ । महाबु गाउँपालिका-३ बाँसी घर भई दैलेख सदरमुकाममा पसल गर्ने बुबाआमासंग बस्तै गरेका १३ वर्षीय बालक भुवन शाहीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

सदरमुकामबाट मंगलबार पौडी खेल्न चुप्रा पुगेका साथीहरुसंग लोहोरे खोलाको बड्डी गाडे रहमा डुबेर ती बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो । 

जिल्ला सदरमुकामको डेकेन्द्रचोकमा तरकारी पसल गर्ने बुबा चन्द्रबहादुर शाही र आमा विपनाका तीन सन्तान मध्ये भुवन एउटा मात्र छोरा हुन् । भुवन भन्दा पहिले एक दिदी र उनी भन्दा मुनिको एक बहिनी मात्र बाँचेको स्थानीय छिमेकीले बताएका छन् । 

डुबेको थाहा पाएर लगतै दौतरी साथीहरुले निकाल्न नसकेपछि झण्डै एक घण्टापछि मात्र स्थानीयहरुले खोला पसेर बालकलाई मृत अवस्थामा फेला पारेका बताइएको छ । बाढी आएकाेले खोला धमिलो भएकोले खोजी कार्यमा समस्या परेको थियो ।  

प्रतिक्रिया