अक्कल र राज्यलक्ष्मीलाई चौथो 'रारा ट्रेल रन' को उपाधि

अक्कल र राज्यलक्ष्मीलाई चौथो 'रारा ट्रेल रन' को उपाधि

मुगु – नेपाली सेनाले रारा तालमा आयोजना गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधि पुरुषतर्फ अक्कल बढुवाल र महिलातर्फ राज्यलक्ष्मी रावलले जितेका छन् ।

आज बिहान ताल वरिपरि सञ्चालन भएको दौडमा एक सय ६९ जना पुरुष र २५ जना महिला सहभागी भएका थिए ।

१६ किलोमिटर दूरी पुरुषतर्फ मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ को वाम गाउँका १७ वर्षीय अक्कल बढुवालले एक घण्टा दुई मिनेट १० सेकेन्डमा पार गरे । यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढा दोस्रो र कनकासुन्दरी–२ का चन्द्र रावत तेस्रो भए ।

महिलातर्फ जुम्लाको गोठीचौर गाउँपालिका वडा नम्बर ३ को गज्याङकोटकी १९ वर्षीया राज्यलक्ष्मी रावलले १६ किलोमिटर दूरी एक घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गरिन् । यस्तै जुम्लाकै पातारासी गाउँपालिका–२ पेडा गाउँकी कल्पना बुढा दोस्रो र जुम्लाकै समिता बुढा तेस्रो भए ।

महिला र पुरुष दुवैतर्फ पहिलो हुनेले जनही ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया