मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री भारत जाँदै

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री भारत जाँदै

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदैहुनुहुन्छ  । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लाग्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुभएको छ  । 

लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिँदैहुनुहुन्छ ।  मोदी र सरकारको मन्त्रिपरिषद्का केही सदस्यले आज शपथ लिनुहुनेछ ।

शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको छ । छिमेकी राष्ट्रका अन्य सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ , मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू लगायत शपथग्रहणमा सहभागी हुनेछन् । 

केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया