पुल नबन्दा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेन
हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सदरमुकाम सिमकोट अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालसँग पूर्णरूपमा जोडिन सकेको छैन ।
कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकामा रहेको दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो । पुलको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षदेखि निर्माण गर्न नसक्दा सिमकोटलाई सडक सञ्चालसँग जोडिएको छैन भने यो मार्ग भएर यात्रा गर्ने गाडी र स्थानीयलाई सास्ती हुँदै आएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशको एकमात्र जिल्ला हुम्ला हो । हिउँदयाममा पानी कम हुँदा कर्णाली नदी पार गरेर ट्र्याक्टर, एक्स्काभेटर, डोजर, बोलेरोलगायत गाडी जोखिम मोलेर वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ ।
कर्णाली करिडोरअन्तर्गत सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुदोभानमा पुल नबन्दा यस क्षेत्रका नागरिकले सामान खोला तार्ने काम गरी मनग्य आम्दानी गर्दै आएका छन् । खार्पुनाथ–५ मा पर्ने खार्पु र दोभान कर्णाली नदीमा बेलिब्रिज निर्माण नहुँदा करिडोरको बाटो भएर ढुवानी भएका सामान यहाँ रहेको झोलुङ्गे पुल तार्ने काम गरी यस क्षेत्रका नागरिकले मनग्य आम्दानी गर्दै आएका हुन् ।
सुर्खेत, नेपालगञ्जबाट मालवाहक ट्रकले झोलुङ्गे पुल खार्पुदोभान पारिपट्टिसम्म विभिन्न विकास निर्माण, दैनिक उपभोग्य सामग्री ल्याउने गरिन्छ । गाडी गुड्ने पक्की बेलिब्रिज नबन्दा छिप्रा, माजा, नल्ला, याङ्चु, खर्पेलगाउँलगायत आसपासका महिलाले पुलबाट ढुवानी गर्ने काम गरिरहेका छन् ।
पारिबाट ल्याइएका सामान ढुवानी गरेबापत एक जना महिलाले दैनिक एक हजार पाँच सय रुपैयाँसम्म कमाउने गरेको खार्पुनाथ–४ छिप्रागाउँका बासिन्दा बताउँछन् । उनीहरू बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म भारी बोक्ने काम गर्दछन् ।
प्रतिक्रिया