बुद्धले ७२ सिटे जहाजबाट काठमाण्डौ–भरतपुर उडान गर्ने
चितवन – बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डौ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।
बुद्ध एअर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक हप्तापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । गएको हप्ता एअरले काठमाण्डौ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो ।
बस्नेतका अनुसार जहाजले काठमाण्डौबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाण्डौ जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ ।
बुद्ध एअरको मात्रै उडान हुँदा काठमाण्डौ– भरतपुर भाडा महँगो भएको गुनासो आइरहेको बेला अब श्री एअरलाइन्सले पनि भरतपुरमा उडान गर्ने तयारी थालेकाले प्रतिस्पर्धाका कारण भाडा घट्ने अनुमान छ ।
प्रतिक्रिया