उत्कृष्ट कृषकहरुलाई मुख्यमन्त्री कृषक पुरस्कार

उत्कृष्ट कृषकहरुलाई मुख्यमन्त्री कृषक पुरस्कार
सुन्नुहोस्

दैलेख – दैलेखमा पौरखी किसानहरु र कृषि व्यवसाय प्रवद्र्धनमा जुटेका संस्थाहरुलाई पुरस्कृत गरिएको छ । दैलेख सदरमुकाममा भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहको हातबाट ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’ पुरस्कार वितरण गरिएको हो । 

उत्कृष्ट कृषिकर्म गरेका डुंगेश्वर गाउँपालिका–६ देबेन्द्र गोदारलाई ४० हजार सहित ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’ प्रथम पुरस्कार, नारायण नगरपालिका–२ का रेशम थापालाई ३० हजार सहित द्वितीय र भगवतीमाई गाउँपालिका–७ का ध्रुवकुमारी बीसीलाई २० हजार नगद सहित तृतीय पुरस्कार दिइएको छ । 

त्यसैगरी पशुपालन तर्फ ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’ पुरस्कार पाउनेहरु ठाँटीकाँध गाउँपालिका–१ कलमबहादुर शाहीलाई ४० हजार सहित प्रथम पुरस्कार, भगवतीमाई गाउँपालिका–७ का बिमल बिकलाई ३० हजार सहित द्वितीय र नारायण नगरपालिका–१ का दिपा शाहीलाई २० हजार नगद सहित तृतीय पुरस्कार दिइएको छ । 

कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा दुल्लू नगरपालिका–१३ को हातेमालो बीउ प्रवद्र्धन सहकारी, नारायण नगरपालिका–२ को कृतिदेवल बहुउद्देश्यीय सहकारी, भैरबी गाउँपालिका–६ को उज्यालो सना कृषि सहकारी संस्था लिमिटेड र डुंगेश्वर गाउँपालिका–२ को उम सुन्तला कागती ब्लक सञ्चालक समितिलाई संस्थागत विकासको निम्ति सम्मान गरिएको छ । 

उक्त कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ को टुकुराखेत सिचाई योजना र नारायण नगरपालिका–८ कुञ्जापाखो सिचाई पोखरी निर्माण समितिलाई भौतिक निर्माण्का काममा पारदर्शिता र उचित सदुपयोग गरेको भन्दै सम्मान गरिएको छ । 

कृषि विकास कार्यालय दैलेखले सञ्चालन गरेका कुल ९६ वटा योजनामा ६ करोड ३२ लाख खर्च भएको मध्ये उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गरिएको कृषि विकास कार्यालयका सूचना अधिकारी झलक भण्डारीले जानकारी दिनुभयो । 
कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहले उत्पादकत्व बृद्धि गर्न कृषकहरुलाई आधुनिक प्रविधि र खेतबारीमा प्राविधिक सहयोग पु¥याउन निर्देशन दिनुभयो । 

कार्यक्रममा जिसस प्रमुख नमराज शाही, नारायण नगरपालिकाका मेयर लोमन शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, पुरस्कृत कृषकहरु देबेन्द्र गोदार र कलम शाहीले पनि कृषिमा व्यवसायिकताको सवालमा बोल्नुभएको थियो । 

त्यसबखत कार्यक्रम आयोजक कृषि विकास कार्यालयका कार्यालय प्रमुख दशरथ पाण्डे र पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भीमबहादुर बिष्टले साधन श्रोतको सीमितताको अवस्थामा पनि कृषि उत्पादन र पशुपंक्षी विकासमा गरिएको प्रयास बारे प्रकाश पार्नुभएको थियो ।  


 

प्रतिक्रिया