सँस्कृति : कैदीबन्दीको दशैं टीका

सँस्कृति : कैदीबन्दीको दशैं टीका

दैलेख – पारिवारिक भेटघाट, जमघट, मीठो खाने र राम्रो लाउने पर्वको रुपमा लिइन्छ दशैंलाई । रोजगारी, काम विशेष र अध्ययनका लागि घरदेखि टाढा भएका वा प्रवासमा भएकाहरुले पनि समय निकालेर दशैंमा भेटघाट र मान्यजनबाट टीका थाप्न घरमा पुग्ने गरिन्छ ।

कानूनको अज्ञानता, विभिन्न परिस्थिति र परिवेशले कारागारमा परेकाहरु घरमा जमघट हुन पाउदैनन् । कैद तोकिएका कैदी र पुर्पक्षका लागि थुनामा रहेका थुनुवा बन्दी घरमा जान नपाउने यो परिस्थितिमा कारागार परेकाहरुलाई दैलेख कारागारले परिवारजनसंग टीका थाप्ने र खानपिन गर्न पाउने प्रवन्ध गरेको छ ।

दुल्लू नगरपालिका–६ छिउडी घर भएका ६६ वर्षका करे कामीको भाउजु र भतिजाले त्यहीं पुगेर टीका लगाइदिनुभयो । नौमूले गाउँपालिका–१ तोलीका जयबहादुर सिंहकी श्रीमति, दुई छोरी र एक छोरा खाली निदार आउनुभएको थियो उहाँहरुको पनि दशैं टीका र खानपिन कारागार परिसर मै भयो ।

कारागार प्रशासनले टीका र खाद्यबस्तु चेकजाँच गरी टीका लगाउने ठाउँसम्म लिन पाउने प्रवन्ध गरेको थियो । अरुबेला भेट्न आएका परिवारकै व्यक्तिले तयारी खाद्यबस्तु ल्याउन पाउँदैनन् तर दशैं मुख्य चाड भएकोले घरमा पकाई ल्याएको परिकारहरु ल्याउनेलाई चाख्न लगाएर मात्र लिन दिइएको थियो ।

टीका लगाउन पाउने, टीका र खाना पनि ल्याउन पाउने पहिले नै सूचित गरिए अनुसार पुरुष कैदीबन्दी तर्फ ६५ जना र महिला तर्फ ८ जना कैदीबन्दीलाई दुई सय २८ जना परिवारजनले भेटघाट र टीका लगाएको कारागार सुरक्षा इञ्चार्ज सहायक इन्स्पेक्टर देवबहादुर थलालले जानकारी दिनुभयो ।

परिवारिक रुपमा दशैं मान्न पाउने अवसर दिँदा परिवारिक सम्वन्ध प्रगाड बनाउने र कैदीबन्दीहरुलाई सकारात्मक भावना विकास हुने भएकोले दशैंको टीकाकै दिन टीका लगाउने र खानपिन समेत गर्न पाउने प्रवन्ध गरिएको दैलेख कारागारका निमित्त जेलर बिष्णु थापाले बताउनुभयो ।

कारागार प्रशासनले टीका लगाउने प्रवन्ध गरिदिंदा कैदीबन्दीहरुमा सामाजिक भावना, भातृत्व र सदाचारको भावना विकास भएको कारागार आन्तरिक प्रशासन चौकीदार मानबहादुर नेपालीको टिप्पणी छ । दैलेख कारागारमा एक सय ५१ पुरुष, १८ महिला समेत आमाहरुसंग आश्रित एक बालिका र बालक  समेत एक सय ७१ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया