गाउमै रोकिए मजदुरीका लागि मुग्लान जाने पाईला
माछालोट,रहफ(अछाम) । यतिवेला गाउँघर रित्तो वनाएर अधिकाँश पुरुष जीवनयापनका लागि मुग्लान हानिएका छन् । संघीयता सँगै गाउँमा रोजगारी नहुँदा अधिकाँश पुरुषको रोजाई मुग्लान वनेको छ । कसैको घरबाट पुरुष मात्र मजदुरका लागि छिमेकी राष्ट्र भारत छिरेका छन् भने कोही जहानपरिवार र बालवच्चा लिएर पराईदेश देश लागेका छन् ।
पहाडका गाउँघरमा पुरुष भेट्न मुस्किल छ । महिला र बुढाबुढी मात्र गाउँमा छन् । बलिया पाखुरा भएका युवा,पुरुष मजदुरीका लागि भारत लागेपछि गाउँ उराठ र पुरुष विहिन वनेको छ । गाउँका शुभ अशुभ विकासका काममा महिलाको मात्र देखिन्छ । सधै चुलो र चौकामा सिमित रहेका महिला सामाजिक काममा सहभागिताले राम्रो देखिएपनि उनीहरु भित्र लुकेको पिडाले वाध्य वनाएको छ ।
वाख्रा पाउने भएपछि मुग्लान जान छोडेर गाउमै रोकिएका अछाम तुर्माखाँद गाउँपालिका -१ रहफका पुरुष ।
तर अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका –१ रहफका केही पुरुष भने यतिवेला मजदुरी गर्न पराईदेश नगएर गाउँघरमै रोकिएका छन् । तुर्माखाँद गाउँपालिकाको समन्वयनमा सोसेक नेपाल अन्तरगत ग्रीन कर्णाली परियोजनाले आयआर्जनका लागि वाख्रा वितरण गर्ने भनेपछि उनीहरु गाउँमै रोकिए । गएको मंगलवार तुर्माखाँद गाउँपालिका रहफवासी ३० जना किसानलाई ग्रीन परियोजनाले चारवटा दरले १ सय २० वटा वाख्रा हस्तान्तरण कार्यक्रममा आफुहरु वाख्रा पाल्नको लागि गाउँमै रोकिएको तुर्माकाँध गाउँपालिका १ रहफका चक्रबहादुर रावलले बताए । उनले भने,देश जान्या भन्या काँ थियौं । समुहमा जाँदा कार्यक्रमले बाख्रा दिन्या हो,गाउँमै बसेर वाख्रा पालौला भनेर देश गयौन । वाख्रा पालेर गाउँमै बस्छौं ।
रावल जस्तै दिनेश कामीले पनि वाख्रापाल्नकै लागि आफु लगायत ७ र ८ जना मुग्लान जान रोकेको बताए । गाउँमै परिवार छोडेर मजदुरीका लागि बम्बै जान्या योजना थियो । परिवारले संस्था र पालिकाले बाख्रा दिन्या भनेपछि योजना वदलियो । अब हामी गाउँमै बसेर बाख्रा पाल्छौं । हामी त मजदुरी गरेर खान्या मान्छे सर देश नगई हुदैन थियो । अब यो वाख्रा पाल्यौं भने हातमुख जोर्न होला दिनेशले जानकारी दिए । गाउँमा यिन्दराई (यस्तै) कार्यक्रम आए हामी गरिव परिवारलाई देश जानु नपर्ने उनको भनाई छ ।
वाख्रा पाएपछि महिला खुशी
ग्रीन परियोजनाले प्रत्येक परिवारलाई ४० हजारका ४ वटा वाख्रा दिएपछि अछाम तुर्माखाँद गाउँपालिका १ रहफकी महिला खुशी भएकी छन् । गाउँमा रोजगारी नपाएपछि श्रीमानलाई मजदुरीका लागि मुग्लान पठाएकी उनीहरुमा वाख्रा हस्तान्तरण कार्यक्रमले खुशी ल्याएको छ ।
वाख्रा पाएपछि खुशी हुदै अछाम तुर्माखाँद गाउँपालिका -१ रहफका किसान ।
जहान परिवारलाई एकसरो कपडा र छोराछोरीलाई हात मुख जोर्नको लागि पतिलाई बम्बै पठाएकी बुद्धि सुनार भन्छिन,हाम्रो त बम्बै नगई पेटमा चारो पर्दैन । धान भित्रयाएर बम्बै जान्छन,हाम्रा लोग्न्या (पति),चैत्रे अष्टिममा आउँछन् । उहाँले देश कमाउनु हुन्छ हामीले गाउमै बाख्रा पालेर घरखर्च चलाउँछौं,दुधे बालक पिठ्युमा बोकेर वाख्रा लिन आएकी सुनारले आफ्ना पिडा सुनाईन । यति भनिरहँदा भने उनका अनुहारमा वदलिएको थियो । सायद श्रीमान पराईदेश गएको पिडाले पिरोलिएकी थिईन ।
गरिव विपन्न नागरिकलाई जीविकोपार्जन सुधार ल्याउनको लागि वाख्रा वितरण गरिएको तुर्माखाँद गाउँपालिकाका पशु सेवा शाखाका जनक बुढाले बताए । उनले भने, कार्यक्रमलाई लक्ष्य सम्म पु-याउनको लागि अनुगमन र औषधी उपचार पहिलो प्राथमिकतामा राखिने छ । तरकारीबाट तत्कालै फाईदा नहुने भएपछि र तत्कालै नगद रकम पाउने भएको वाख्रावितरण गरिएको र यसले विपन्न गरिव वर्गको जीवनयापनमा सहजता ल्याउनेमा पालिका विश्वस रहेको जानकारी दिए ।
त्यसैगरि सोही वाख्रा वितरण कार्यक्रमममा सोसेक नेपाल ग्रीन कर्णाली परियोजनाका कार्यक्रम संयोजक पुष्कर शर्माले कार्यक्रमले वाख्रा सँगै खोरको रकम पनि सहयोग गरेको जानकारी दिए । उनले भने, नागरिक स्तरबाट माग भई आएकोले र विपन्न गरिव वर्ग समेटिएकोले यो कार्यक्रम उहाँहरुको जीवनस्तरमा सुधार ल्याउनेछ । यो कार्यक्रम पालिका सरकार र वडासरकारको हो,हामी त सहयोगी वनेर आएका हौं । तपाईहरुले वाख्रापालनलाई व्यवसाय गर्नु भयो भने अवश्य नै जीवनयापनमा पहिलाको भन्दा फरक भई नेपाल सरकारले लिएको गरिवी न्युनिकरणमा टेवा पुग्नेमा संस्था आशावादी बनेको जानकारी दिए । सोही हस्तान्तरण कार्यक्रममा बोल्दै तुर्माखाँद गाउँपालिका -१ का वडाअध्यक्ष उपेन्द्र रावलले सोसेक नेपाललाई कार्यक्रम सञ्चालन गरि वाख्रा वितरण गरेकोमा धन्यवाद दिए । कार्यक्रम सञ्चालनको लागि पालिकाले आवश्यक सहयोग गर्ने जनाए । उनले थपे,यो कार्यक्रम कुनै संस्था संस्थाको नभई पालिकाको भएको जानकारी दिए ।
प्रतिक्रिया