मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको अवसान

मानव बेचबिखनविरुद्धकी  अभियन्ता सुनिता दनुवारको अवसान

दैलेख । १४ वर्षकै उमेरमा मुम्बईमा बेचिएकी सुनिता दनुवार नाम नसुन्ने, नचिन्ने सायद कमै होलान् । उनी मानव बेचबिखनविरुद्धकी एकजना अभियन्ता हुन् ।

उनै दनुवारको निधन भएको छ । जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनलाई पति नृप दनुवारले अचेत भेटाएका थिए ।

पारिवारिक स्रोतका अनुसार उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो । सुतेकै ठाउँमा अचेत भेटिएकी उनलाई परिवारका सदस्यले तत्काल अस्पताल लगेका थिए । सुनिताको निधन हृदयघातका कारण भएको खुलेको छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष थिइन् । अमेरिकाको  फर्च्युन म्यागेजिन’ ले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । अमेरिकी विदेश मन्त्रालयले सुनितालाई सन् २०१८ मा  टिपहिरो’ का रूपमा सम्मान पनि गरेको थियो ।

दैलेखमा जन्मिएकी उनी १४ वर्षमै मुम्बईमा बेचिएकी थिइन । दैलेख स्थायी भएकी दनुवारको बाल्यकाल अभाव, अशिक्षा र अन्धविश्वासमा बितेको थियो । जस अनुसार परिवार सहज जीवनयापनका लागि राम्रो विकल्प खोज्दै सुर्खेत बसाइँ झर्‍यो ।

त्यहाँ आएपछि आमाबुवाको सम्बन्ध झै बिग्रँदै गएपछि परिवारमा दुःखमाथि दुःख थपिँदै गयो । परस्त्रीसँग  बुवाको निकटताले परिवार बिमेल भयो ।  आर्थिक अभावले मानसिक स्थिति पनि बिग्रँदै गयो । दनुवार परिवारमा थप समस्या थपिदै गए ।

त्यसपछि उनीहरू त्यहाँबाट बसार्इ सरेर भारतको जम्मु–काश्मिर पुगे । कश्मिरमा दनुवार १३ वर्षको उमेरमै घरमा बलात्कृत भइन् । १४ वर्षमा बलात्कारबाट गर्भमा बसेको बच्चा जन्माइन् । नाबालिगले बाबुको पहिचानबिनाको बच्चा जन्माउने कदम चालेर उनले यो समाजले कल्पनै गर्न नसक्ने काम गरिन् ।

कुनै निकृष्ट पुरुषले गरेको गल्तीको सजाय कोखमा रहेको बच्चालाई दिनु हुँदैन भनेर त्यो कलिलो उमेरमै उनले बच्चालाई जन्माउने आँट गरिन् । बच्चा जन्मिएपछि लालनपालनको जिम्मा पनि लिनु थियो ।

काम र अवसरको खोजीमा हिँड्दै गर्दा उनी दलालको फन्दामा परिन् । बच्चासहित मुम्बईको कोठीमा बेचिन पुगिन् । सुनितालाई अचेत बनाएर कोठीमा बेचिएको थियो । बेचिएपछि उनको परिचय फेरियो । सुनिताबाट उषा बनिन् ।

सुत्केरी शरीर लिएर उनी कोठीमा ग्राहक खुसी बनाउन विवश हुनु पर्‍यो । उनले लेखेको पुस्तकमा एकजना ग्राहकले उनको स्तनबाट बगिरहेको दूध आमा मानेर पिउँछु भनेको उल्लेख गरेकी छन् । ती ग्राहकले सानै छँदा आमाको मृत्यु भएपछि दूध खान नपाएको सुनाए । आमाको दूध कस्तो हुन्छ भनेर थाहा नभएको बताएका ती पुरुषले आमा मान्छु भनेको कुरा उनले किताबमा उल्लेख गरेकी छन् ।

एकदिन प्रहरीले छापा मार्दा उनलाई नाबालिगकारूपमा उद्धार गरियो । त्यसपछि खुसी र उत्साहले नेपाली भूमि टेक्न पाइन् । तर, आफ्नै परिवार र समाजको अवहेलना, दुव्र्यवहार सहनुपर्‍यो । बेचिएकी चेलीसँग संकीर्ण मानसिकता र पूर्वाग्रही व्यवहार खेप्नुको विकल्प थिएन । मुम्बईबाट फर्केपछिका दुई दशक उनले तिनै तिरस्कार र दुर्व्यवहारसँग जुधेर बिताइन् ।

तर उनले परिवार र समाजको यही अवहेलनालाई शक्तिमा बदलिइन् । उनले आफू जस्तै पीडित महिलाका लागि लड्ने निधोसहित ‘शक्ति समूह’ गठन गरिन् । जसमा १२ जनाको टिम थियो । त्यसपछि मात्रै सुनिताले स्वेच्छा र सन्तोषले बाँचेका पल भेटिन्छन् । शक्ति समूहमार्फत् संगठित रुपमा महिला बेचबिखनविरोधी अभियान छेडेकी उनको त्यसपछि पहिचान र ख्याति चुलिँदै गयो ।

शक्ति समूह दर्ताका क्रममा सरकारी अधिकारीहरूले पीएचडी गरेकाले मात्रै संस्था चलाउने सल्लाह दिएको उनले एक अन्तर्वातामा बताएकी थिइन् । अधिकारीहरूले ‘तिमीहरू त बिछट्टै राम्री, कलिला केटीहरू मसाज पार्लर, डान्स बार र क्याबिन रेस्टुराँतिर लागे टन्न पैसा कमाइन्छ’, भनेको उनी सुनाउँथिन् । सुनिताबाट उषा र उषाबाट सुनिता दनुवारको अस्तित्व र पहिचान स्थापित गरिनुको यात्रा सुरु भयो । पुनर्जीवन पाएकी सुनिताले आत्मकथा ‘आँसुको शक्ति’ प्रकाशन गरिन् । उनले २०७३ भदौ २८ मा पुस्तक विमोचन गराएकी थिइन् । पुस्तकमा बलात्कार र कोठीमा बेचिएपछि जन्मिएका अनगिन्ती असाधारण घटना र अवस्थाहरू झेल्दै अघि बढ्दै जाँदाको बेलीविस्तार पुस्तकमा छ ।

सुनिताले आफू बेचिनुमा मुख्यतः समाज, लैंगिक विभेद, अन्धविश्वास, विपन्न आर्थिक अवस्था, जीविकोपार्जनको राम्रो विकल्प खोजी, स्थायी बसोबास अभाव र सम्बन्धहरूजस्ता कारण दर्शाएकी थिइन् ।

पुस्तकमा पुरुषप्रधान समाजमा महिलाको यौनिकतामाथि परिवार, समाज, सञ्चार र राज्यको मानसिकता र व्यवहारको प्रतिबिम्ब छ ।
मानव बेचबिखनमा परेपछि मुम्बई लगायत विभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ । मानव बेचबिखनको अवस्था कस्तो छ भन्ने सन्दर्भमा पुस्तक छ ।

सामाजिक न्याय, मानव अधिकार र लैंगिक समानताका लागि धेरै गर्न बाँकी रहेको उनी बताउँथिन् । मानव बेचबिखनको अवस्था, बेचबिखनपछि हुने पीडा, महिलामाथि हुने जघन्य हिंसा, राज्य र राज्यको भूमिका लगायतका विषयमा पुस्तकले समटेको छ ।

प्रतिक्रिया