नारायणमा प्रभावकारी बन्दै 'गर्भवती महिलासँग नगर–उपप्रमुख भेटघाट कार्यक्रम'

दैलेख – दैलेखको नारायण नगरपालिकामा सञ्चालित ‘गर्भवती महिलासँग नगर उपप्रमुख भेटघाट कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि गरिएको यो पहलले महिलाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न थालेको छ।
नगरपालिकाका ११ वटै वडामा पुगेर नगर उपप्रमुख तप्ता कुमारी थापाको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले गर्भवती महिलासँग प्रत्यक्ष भेटघाट गरी व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परामर्श दिने र स्वास्थ्य सामग्री वितरण गर्ने कार्यलाई नियमितता दिइएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले भन्नुभयो, “स्वस्थ बच्चा जन्माउन आमा स्वस्थ हुन आवश्यक छ। आजका गर्भवती महिलाहरूले भोलिका राष्ट्रनिर्माताहरू जन्माउने भएकाले वालबालिकाको हरेक जिम्मेवारी राज्यले लिनु आवश्यक छ ।”
स्वास्थ्य शाखाका अनुसार, नारायण नगरपालिकामा हाल २५० भन्दा बढी महिलाहरू गर्भवती रहेका छन् । कार्यक्रमबाट मातृ र शिशु मृत्युदरमा कमी ल्याउने लक्ष्यसहित, स्वस्थ मातृत्व र सुरक्षित सन्तानको आधार तयार पार्ने उद्देश्य लिइएको उपप्रमुख तप्ता कुमारी थापाले जानकारी दिनुभयो ।
नगर उपप्रमुख थापाले भन्नुभयो, “सरकार कुनै पनि हालतमा व्यक्तिगत स्वार्थमा लिप्त हुनु हुँदैन । शिक्षा, स्वास्थ्य र विशेष गरी महिलाहरूको स्वास्थ्य व्यवस्थापनमा अग्रसर हुनु सरकारको दायित्व हो । यही सोचका साथ यो कार्यक्रम सुरु गरिएको हो ।”
कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र परामर्शका लागि परिचालन गरिएको छ । साथै, नगरपालिकाले मातृ(शिशु स्वास्थ्य, पोषण, नियमित खोपलगायतका विभिन्न कार्यक्रम पनि सँगसँगै सञ्चालन गर्दै आएको थापाले बताउनुभयो ।
स्थानीय महिला र परिवारहरूले पनि यस कार्यक्रमलाई सकारात्मक रूपमा लिएको जनाएका छन्, जसले समुदायमा स्वास्थ्यप्रति चेतना र विश्वास अभिवृद्धि गराएको छ।
प्रतिक्रिया