ठाटीकाँध–३ का सबै योजना सम्पन्न, एकमात्र खानेपानी योजना बाँकी

ठाटीकाँध – ठाटीकाँध गाउँपालिका–३ मा आर्थिक वर्ष २०८१÷०८२ का अधिकांश विकास योजना सफलतापूर्वक सम्पन्न भएका छन् । वडाध्यक्ष भरत बमका अनुसार वडामा स्वीकृत सबै योजना सम्पन्न भइसकेका छन् भने एक मात्र बहुवर्षीय खानेपानी योजना कार्यान्वयनको क्रममा छ ।
वडाध्यक्ष बमले आफू दिनरात खटेर योजना सम्पन्न गराएको बताउँदै भन्नुभयो, “वडामा आएका सबै योजना सकिएका छन्, केवल एउटा इल्ची खानेपानी योजना मात्रै बाँकी छ ।”
वडामा सञ्चालित दुई खानेपानी योजनामध्ये एक योजना सकिएको छ भने इल्ची खानेपानी योजना पञ्चवर्षीय योजना अन्तर्गत हाल दोस्रो वर्षमा रहेको छ। अहिले मुख्य लाइनको निर्माण कार्य भइरहेको वडाले जनाएको छ।
त्यसैगरी गाइधारा–भेरीपातल–मदानताल सडक र पुनबजार–मटेला–बहाकोट सडकको स्तरोन्नति कार्य सम्पन्न भइसकेको छ। स्वास्थ्य क्षेत्रमा मुख्यमन्त्री रोजगार कार्यक्रमसँगको साझेदारीमा बिशाला स्वास्थ्य चौकीको तल्लो भागमा घेरबार निर्माण कार्य १० लाख ४५ हजार रुपैयाँको लागतमा भइरहेको छ।
शिक्षा, कृषि तथा साना पूर्वाधार विकाससम्बन्धी अन्य योजनाहरू पनि पूरा भएको वडाले जनाएको छ । वडाध्यक्ष बमले योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीयको सहकार्य र पालिकाको समन्वय उल्लेख्य रहेको बताउनुभयो ।
वडाले बाँकी रहेको बहुवर्षीय खानेपानी योजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया