खाडाचक्रमा बालअधिकार र मानसिक स्वास्थ्यबारे घरदैलो कार्यक्रम

खाडाचक्रमा बालअधिकार र मानसिक स्वास्थ्यबारे घरदैलो कार्यक्रम

कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिका–१ अन्तर्गत पर्ने सरूकाँडा र कोटदरबारमा बालअधिकार, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य तथा कानुनी परामर्शबारे जनचेतना फैलाउन घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।

एआईएन लक्जेम्बर्गको साझेदारीमा कालिकोटमा सञ्चालित आधार परियोजना अन्तर्गत सोसेक नेपालको आयोजनामा सम्पन्न घरदैलो कार्यक्रममा बाल अधिकार संरक्षणका लागि सञ्चालनमा रहेको बाल हेल्पलाइन १०९८ र टोल–फ्रि नम्बर १६६०–८९४२००१ का बारेमा विस्तृत जानकारी दिइएको थियो।

सरूकाँडामा गरिएको घरदैलो कार्यक्रममा बालविवाह र छाउपडी प्रथाका सामाजिक असर, कानुनी निषेध र समाधानका उपायबारे छलफल गरिएको आधार परियोजना कालिकोटले जनाएको छ । सहभागीहरूलाई यस किसिमका हानिकारक परम्पराको अन्त्यका लागि समुदाय स्तरमै सचेतना फैलाउनु आवश्यक रहेकोमा जोड दिइएको थियो ।

त्यस्तै, वडा नं. – १ को कोटदरबार क्षेत्रमा सम्पन्न अर्को घरदैलो कार्यक्रममा बाल अधिकारसँगै कानुनी परामर्श र मानसिक स्वास्थ्य तथा मनोविमर्श सम्बन्धी विषयमा समुदायलाई जानकारी दिइएको थियो । कार्यक्रममा सहभागीलाई बालबालिकाको मनोवैज्ञानिक अवस्था, पारिवारिक वातावरण र समुदायमा देखिने व्यवहारगत समस्या समाधान गर्न सहयोग पुग्ने जानकारी प्रदान गरिएको आधार परियोजना कालिकोटले जनाएको छ ।

कार्यक्रममा स्थानीय अभिभावक, बालबालिका, महिला समूहका प्रतिनिधि तथा समुदायका अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले गाउँघरमा आवश्यक ज्ञान र सचेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

सोसेक नेपालका प्रतिनिधिहरूका अनुसार आगामी दिनमा जिल्लाका अन्य वडाहरूमा समेत यस्तै खालका कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।

प्रतिक्रिया