“जातीय भेदभाव अन्त्य, समावेशी समाज निर्माण” गर्न सोसेकको आह्वान

काठमाडौँ – जातीय भेदभाव अन्त्य, समावेशी समाज निर्माण’ भन्ने मूल नाराका साथ आज देशभर जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०८२ विविध कार्यक्रम गरि मनाइँदैछ। यस अवसरमा सामाजिक विकास तथा मानव अधिकार क्षेत्रमा क्रियाशील संस्था सोसेक नेपालले सबै नागरिक, सरकारी निकाय, संचार माध्यम र समुदायलाई जातीय भेदभाव अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।
नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई गम्भीर आपराधिक कार्यका रूपमा परिभाषित गर्दै सामाजिक न्यायको प्रत्याभूति गर्न विभिन्न कानुनी प्रावधानहरू सुनिश्चित गरेको छ । यद्यपि व्यवहारिक रूपमा अझै पनि दलित समुदाय सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक क्षेत्रमा विभेद, बहिष्कार र अवसरहीनताको सिकार भइरहेको यथार्थता कायमै छ ।
सोसेक नेपालका अनुसार संस्थाले दलित समुदायको सशक्तिकरण, अधिकार प्रवर्द्धन, न्यायमा पहुँच र अवसरको समानता सुनिश्चित गर्न निरन्तर पहल गरिरहेको छ। जातीय भेदभाव तथा छुवाछुतको अन्त्यका लागि कानुन मात्र होइन, सोच र व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको संस्था बताउँछ ।
दिवसको अवसरमा सोसेक नेपालले सबै पक्षलाई आग्रह गर्दै भनेको छ, “समावेशी, न्यायपूर्ण र सम्मानयुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी हो । जातीय भेदभाव र छुवाछुत विरुद्ध आवाज उठाऔं, व्यवहारमा परिवर्तन ल्याऔं ।”
संविधानले प्रत्याभूत गरेका अधिकारहरू व्यवहारमा कार्यान्वयन गर्न र विभेदविहीन समाज निर्माण गर्न यस दिवसलाई सबैको लागि चेतनामूलक अवसरका रूपमा लिनुपर्ने सोसेक नेपालको जोड छ।
प्रतिक्रिया