सार्वजनिक शिक्षामा नागरिक समाजको सहभागिताबारे शिक्षा संवाद

सार्वजनिक शिक्षामा नागरिक समाजको सहभागिताबारे शिक्षा संवाद

दैलेख  – सार्वजनिक शिक्षामा नागरिक समाजको सहभागिता विषयक शिक्षा संवाद कार्यक्रम दैलेखमा सम्पन्न भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियानको आयोजना र जिल्ला समन्वय समिति सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, सञ्चारकर्मी, विद्यालय व्यवस्थापन समिति, गैसस महासंघका प्रतिनिधि लगायत नागरिक समाजको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले शिक्षामा सुधार ल्याउन सबै सरोकारवालाको सल्लाह र सुझावका आधारमा आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम निर्माण गरिने बताउनुभयो। उहाँले राज्यले शिक्षकका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल शिक्षक महासंघ दैलेखका अध्यक्ष मणिराज जैशीले सामुदायिक विद्यालयमा प्राथमिकता दिई उत्कृष्ट शिक्षकलाई सम्मान र कमजोर शिक्षकलाई कारबाही गर्ने प्रणाली आवश्यक रहेको धारणा राख्नुभयो ।

 शिक्षा गुणस्तर सुधारका लागि नीति निर्माणदेखि बजेटसम्म नागरिक समाजको भूमिका अपरिहार्य रहेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रेशम नेपालीले बताउनुभयो । उहाँले सबै बालविकास शिक्षकलाई समान सेवासुविधा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा एनसिई नेपाल दैलेखका संयोजक भरतराज अधिकारीले शिक्षाको अवस्था सुधारका लागि टोलटोलमा पुगेर सर्वेक्षण र प्रत्यक्ष क्रियाशीलता आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया