दैलेखमा विविध कार्यक्रमसहित मनाइयो विश्व वातावरण दिवस
दैलेख – हरेक वर्ष जुन ५ तारिख मनाइने विश्व वातावरण दिवस २०८२ को अवसरमा दैलेखमा विभिन्न सचेतनामूलक तथा वातावरणमैत्री कार्यक्रमहरू आयोजना गरेर वातावरण दिवस मनाइएको छ । “प्रकृति संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता” भन्ने सन्देशलाई आत्मसात गर्दै वातावरणीय संरक्षणलाई व्यक्तिगत तथा सामूहिक अभ्यासमा रूपान्तरण गर्न स्थानीय तह, विद्यालय, संघसंस्था र समुदायको सक्रिय सहभागिता रहेको थियो ।
सोसेक नेपालले विश्व वातावरण दिवसको अवसरमा आफ्ना दैनिक अभ्यासमा वातावरणमैत्री गतिविधि अपनाउन सबैमा अपिल गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेर विश्व वातावरण दिवस मनाइएको सोसेकले बताएको छ ।
संस्था कार्यरत क्षेत्रमा रहेको श्री कैलाशी आधारभूत विद्यालय, महाबु गाउँपालिका–काशिकाँधमा सरसफाई तथा वातावरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालित गोत्री खानेपानी तथा सरसफाई योजनाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको आयोजना तथा सोसेक नेपाल र हेल्भेटास नेपालको सहजीकरणमा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुखहरूबीच समन्वयात्मक बैठक गरिनुको साथै विश्व वातावरण दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । यस्तै सोसेक नेपाल र हेल्भेटास नेपालको आयोजनामा दुल्लु नगरपालिका वडा नं.११ मा संचालित सैनिखोला रावत टोल खा पा तथा सरसफाइ योजनामा टोल सरसफाइ र जनचेतनामुखि कार्यक्रम गरिएको छ ।
संस्थाका कार्यसमिति सदस्य, कर्मचारी तथा स्वयंसेवकहरूको सहभागितामा दैलेख बजारको देवकोटा चोक र कार्यालय परिसर वरपर सरसफाई अभियान सञ्चालन गरिएको थियो । सोसेक नेपालले यस वर्ष पनि विभिन्न विद्यालयका बाल क्लब र स्थानीय समुदायसँग सहकार्य गर्दै सरसफाई, वृक्षारोपण, सचेतना र व्यवहार परिवर्तनमा केन्द्रित कार्यक्रमहरू आयोजना गरेको जनाएको छ ।
प्रतिक्रिया