प्रअ नियुक्तिमा राजनीतिक विवाद, दिनभर थुनिए जिशिअ !

प्रअ नियुक्तिमा राजनीतिक विवाद, दिनभर थुनिए जिशिअ !

भक्तपुर– निमित्त प्रअ नियुक्तिको विषयलाई लिएर थिमिस्थित आदर्श लायकु माविमा तालाबन्दी गरिएको छ ।

जिल्ला शिक्षा शिक्षा कार्यालय भक्तपुरले लामो समयदेखि रिक्त रहेको उक्त विद्यालयमा भक्तपुरको शारदा माविका प्रअ उद्धव सुजखुलाई सरुवा गरी निमित्त प्रअको जिम्मेवारी दिएपछि सो कामबाट रुष्ट नेपाली काँग्रेस समर्थक एक समूहले आइतबार प्रअको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

adarsha_layaku_2073_11_01शिक्षा कार्यालयले स्थानीयको सहमति नै नलिइकन एकतर्फी निर्णय गरेको र प्रअ दिने विषयमा विवादित शिक्षक सुजखुलाई पठाएपछि काँगे्रस आवद्ध समूहले तालाबन्दी गरेको हो । मध्यपुर थिमि नपाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ तथा नेकां निकट अष्ट कवे, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मुरारी आचार्य, गोकुल शर्मा लगायतको टोलीले प्रअ कक्षमा तालाबन्दी गरेका हुन् । ‘नेकां निकटका केही व्यक्तिहरु आएर मलाई तपाइँ प्रअ बन्नुभएकोमा केही गुनासो छैन, विवादित ठाउँमा तपाइँ प्रअ भएर नआउनुभएको भए हुन्थ्यो भन्दै कार्यकक्षमा तालाबन्दी गरे ।’ निमित्त प्रअ उद्धव सुजखुले भने । सुजखु भने नेमकिपा निकट नेपाल क्रान्तिकारी शिक्षक संघसँग आवद्ध छन् ।

कार्यकक्षमा तालबन्दी गरिएपछि निमित्त प्रअले जिल्ला प्रशासन कार्यालय, प्रहरीको रोहबरमा ताला फोडेका थिए । ताला फोडेपछि अझ रुष्ट बनेको समूह जिल्ला शिक्षा कार्यालय पुगेका थिए ।

दिउँसो सवा एकबजेदेखि साँझ साढेपाँच बजेसम्म जिशिअ अर्जुनबहादुर रायमाझीलाई कार्यकक्षमै थुनेर टोलीले निमित्त प्रअलाई तत्कालै फिर्ता बोलाउन दबाब दिएका थिए । ‘यो समस्या जिशिअकै कारण निम्तिएको समस्या हो, यसको समाधान भनेको निमित्त बनाएका शिक्षकलाई फिर्ता बोलाउने हो, सो काम नगरीकन हामी कार्यकक्षबाट बाहिरिन्नौं ।’ टोलीमा सहभागीमध्ये अष्ट कवेले भने ।

जिल्ला शिक्षा कार्यालयका अनुसार शिक्षक सुजखुलाई माघको २७ गते सरुवा गरी २८ गते निमित्त प्रअ बनाइएको थियो । निमित्त प्रअ बन्ने बित्तिक्कै पुसमा सञ्चालित परीक्षाको परीक्षाफल वितरण, तथा विद्यालयको रोकिएको खाता पनि सञ्चालन गरिसकेका थिए । ‘हामीले विद्यालयकै समस्या समाधानको लागि यस्तो प्रयास गरेका हौं, फेरि राजनीतिक सहमतिमै गरेको कामलाई लिएर नेकांका नेताहरुले त्यस्तो किन गरेको हो थाहा भएन ।’ जिशिकाका एक अधिकारीले भने । तालाबन्दी गरिएको सन्दर्भमा स्रोतव्यक्ति राज्यलक्ष्मी श्रेष्ठले पनि विवाद मिलिसकेको विषयलाई अझ पेचिलो बनाएको बताइन् ।

सोभन्दा अघि निमित्त प्रअ विद्यादेवी चित्रकारको उमेर हदका कारण गत मसिर १९ गते अवकास भएपछि निमित्त प्रअ कसलाई दिने भन्ने विषयमा एमाले र नेकां निकट शिक्षकबीच द्वन्द्व बढेको थियो ।
सो क्रममा एमाले निकट शिक्षक बुद्धिकुमार घो र नेकां निकट धु्रब हमाललाई निमित्त दिनुपर्ने विषयमा विवाद चुलिएको थियो ।

शिक्षा नियमावलीमा उल्लेख प्रावधानअनुसार वरिष्ठताको आधारमा शिक्षक हमालले निमित्त पाउनुपर्ने भए पनि त्यहाँको विव्यसले भने शिक्षक घोलाई निमित्त दिएको थियो । सोही विवाद तीन महिनासम्म लम्बिएको थियो ।

तीन महिना लागिसक्दा पनि विद्यालयको समस्या समाधान गर्न नसकेपछि जिल्लास्थित पेशागत संघ संगठन अन्तर्गत एमाले र नेकांकै संगठनका पदाधिकारीको सहमतिले नेमकिपानिकट शिक्षक संघलाई गुहारेका थिए । सोही गुहारपछि आपसी सहमति र समझदारीमा निमित्त प्रअ सुजखुले पाएको थियो ।

विवाद समाधानका लागि भन्दै जिशिकाले शिक्षक हमाललार्ई स्रोतव्यक्तिमा नियुक्त गरी शिक्षक सुजखुलाई विद्यालयमा कार्यरत शिक्षकमध्ये वरिष्ठ शिक्षक बनाएर निमित्त प्रअको जिम्मेवारी दिए पनि शिक्षक हमालले नियुक्ति लिन आनाकानी गरेपछि विवाद थप चुलिएको स्रोतको भनाइ छ ।

विद्यालयमा रहेको विव्यसको म्याद सकिसकेको अवस्थामा कार्यरत शिक्षक– कर्मचारीहरुमात्र नभएर निमित्त प्रअका आकांक्षीद्वय शिक्षक घो र हमालले समेत शिक्षक सुजखुलाई निमित्त प्रअको जिम्मेवारी दिने विषयमा सहमति जनाइसके पनि एकाएक राजनीतिक समूहले विद्यालयमा उक्त काम गरेको विद्यालयका एक शिक्षकले बताए ।

समस्या समाधानका लागि दिनभर जिशिकामा छलफल भए पनि रुष्ट बनेका टोलीको ढिपीको कारण निश्कर्ष भने निस्कन सकेको छैन । ‘जिशिअलाई तत्कालै समाधान गर्न भनेको छ, कुनै समयसीमा पनि दिइएको छैन, छलफल गर्न आएका हुन् कि टर्चर दिन आएका हुन् ? आफूलाई थाहा नभएको शिक्षा कार्यालयका एक विनिले भने ।

स्रोतका अनुसार टोलीमा रहेका कुनै पनि व्यक्तिहरुका सन्तानहरु सो विद्यालयमा अध्ययन गर्दैनन् । सोही विषय उचालेर विद्यालय बिगार्ने र विद्यालयलाई राजनीति गर्ने थलो बनाउने षड्यन्त्रमा लागेको स्थानीयको भनाइ छ ।

एडुखवरवाट लिएकाे हाे ।

प्रतिक्रिया