एक शिक्षक सरुवा गर्दा जिशिअलाई ४८ जनाको फोन

एक शिक्षक सरुवा गर्दा जिशिअलाई ४८ जनाको फोन

काठमाडौं– एक प्राथमिक विद्यालयमा पढाउने शिक्षक रमेश चौंलागाइँ (परिवर्तित नाम) लाई जिल्ला शिक्षा कार्यालय काठमाडौंले सरुवा गरे । शिक्षक चौंलागाइँले पढाइरहेको प्राथमिक विद्यालयमा क्रमशः विद्यार्थी घट्दै गएपछि सो स्कुलबाट करिब १० मिनेट परको अर्को स्कुलमा सरुवा गरेपछि काठमाडौंका जिशिअले भने ४८ जनाको फोन व्यहोर्नु परेको छ । ‘दरबन्दी मिलान गर्ने प्रक्रियाअन्तर्गत विद्यार्थि नभएका विद्यालयका शिक्षकलाई यताबाट उता सारेकै आधारमा जिशिअले दबाब खेप्नुपरेको छ ।’ कार्यालय स्रोतको भनाइ छ ।
ती ४८ जनामध्ये साधारण व्यक्तिहरु नभएर विभिन्न पेशागत संघसंगठनका पदाधिकारीदेखि लिएर, शिक्षा विभाग, क्षेत्रिय शिक्षा निर्देशनालय र शिक्षा मन्त्रालयका अधिकारीहरु हुन् । ‘कोहीले म फलानोबाट, ढिस्कानोबाट भन्दै फोन गर्दै सो शिक्षकलाई सरुवा गर्न नहुने भन्ने सुझाव दिँदै सरुवा नगर्दा हुन्न र ?’ भन्दै धम्क्याइरहेका छन् ।’ जिशिअ जयाप्रसाद आचार्यले भने ।
जिशिअले बाट उक्त शिक्षकलाई सोही विद्यालयमा फिर्ता पठाउन दबाब दिने क्रम अझै जारी भएको पनि बताए । ‘ हिजो एकजना शिक्षकलाई एउटा स्कुलबाट अर्को स्कुलमा सरुवा गरेको थिएँ, विभिन्न पार्टी तथा शिक्षाका ‘ठूला’ पदका व्यक्तिहरुबाट फोन आयो, फोनबाटै सो शिक्षकलाई आफ्नै स्कुलमा फिर्ता पठाउन दबाब दिए ।’ जिशिअ आचार्यले भने ।
उनले कुन स्कुलका कुन शिक्षकलाई कहाँबाट कुन स्कुलमा सरुवा गरेको हो भनेर भने खुलाएनन् । उनले आज पनि विभिन्न व्यक्तिहरुबाट फोन आइ रहेको बताउँदै शिक्षकलाई एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा निक्कै दबाब आएको बताए । शिक्षा कार्यालयका अनुसार काठमाडौंमा शिक्षक सरुवा गर्ने, हुने विषयमा पहिलेदेखि नै विभिन्न व्यक्तिहरुबाट फोनमार्फत् दबाब आउने गरेको आफूले थाहा पाएको बताउँदै अहिले पनि सोहीको निरन्तरता रहेको बताए ।
उनले सोही कारण काठमाडौंमा शिक्षक दरबन्दी मिलान हुन नसकेको आफूले प्रत्यक्ष बोध गरेको बताउँदै दबाब आए पनि काम गर्ने बताए ।

 एडुखवरवाट लिएकाे हाे ।

प्रतिक्रिया