गणित पढाई नभएको भन्दै विद्यालयमा तालावन्दी

गणित पढाई नभएको भन्दै विद्यालयमा तालावन्दी

अमर सुनार

दैलेख, जेठ २६ – दुल्लू नगरपालिका–१३ मालिकास्थित देबी मावि ‘ख’ समूह हाडेआवतमा शैक्षिक सत्र २०७४ सुरुदेखि नै गणित विषय पढाई नभएको भन्दै विद्यार्थीले विद्यालयमा ३ दिनदेखि तालावन्दी गरेका छन् । गणित विषयकी शिक्षिका पार्वती शर्माले देबी माविको ‘क’ समूह विनायकमा पढाउन थालेपछि हाडेआवतमा गणितको पढाई रोकिएको हो । News 2074.2 (2) News 2074.2 (1)
शिक्षिका शर्माले ४ वर्ष अघि नियुक्ति लिंदा विनायकमा भएपनि हाडेआवतमै पढाई दिन अनुरोध गरिए अनुसार पढाउदै आए पनि विदामा घर सदरमुकाम जान नजिक पर्ने भन्दै विनायकमा पढाउन थालेकी र यसअघि विनायकमा गणित पढाईरहेका रणदीप बिश्वकर्माले समेत हाडेआवत जान नमानेपछि यो अवस्था सिर्जना भएको हो ।
सुरु नियुक्तिमा देवी मावि विनायक तोकिएको भन्दै शर्माले क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयबाट पत्र लिई विनायकमा हाजिर भएपछि विद्यालय प्रशासनले केही गर्न सकेको छैन । शिक्षकले आफूखुशी विद्यालय रोज्ने व्यवस्थापन समितिलाई समेत चुनौती दिने गलत संस्कार बसेको दुल्लू नगरपालिका १३ नं. वडाका नवनिर्वाचित वडाध्यक्ष सूर्यबहादुर शाहीको टिप्पणी छ ।
२०१४ सालमा स्थापना भएको देवी मावि सुरुमा हाडेआवतमै चल्दै आएकोमा २०४८ सालमा त्यतिवेलाको इलाका नं. ७ को इलाका मुकाम विनायक बनेपछि ‘क’ समूह विनायक भनी चल्दै आएको थियो । २०६७ सालसम्म कक्षा ८ मात्र चलाउँदै आएको हाडेआवतमा विद्यार्थी चापका कारण स्थानीयको दवावमा हाडआवतमा १० कक्षासम्म पढाउने जिल्ला शिक्षा कार्यालयले अनुमती दिएको थियो ।
अहिले कक्षा १ देखि १० सम्म पढाई चलिरहेको हाडआवतमा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘क’ समूह विनायक भने ६ देखि १२ कक्षासम्म मुश्किलले अढाई मात्र विद्यार्थी छन् । तर विद्यालयको मुख्य प्रधानाध्यापक नारायणप्रसाद शर्मा विनायकमा र हरिप्रसाद भट्टराईलाई हाडआवतमा सहायक प्रधानाध्यापकको जिम्मेवारी तोकिएको छ ।
एउटै विद्यालयमा २ ठाउँमा चलाउदाँ पटक पटक विवाद सिर्जना हुने मार शिक्षकहरुलाई परेको छ । ‘क’ समूह र ‘ख’ समूहको पढाई भेटाउन कतिपय विषय शिक्षकहरुले ४५ मीनेट उकालो ओरालो सास्ती पाउने गरेका विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद शर्माले बताउनुभयो ।
विद्यालय खुलाउन पहल नभएकोमा कक्षा १० का विद्यार्थी खगेन्द्रबहादुर शाहीले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो जेठ २१ गते विनायक पुगेर प्रधानाध्यापक शर्मालाई ज्ञापनपत्र दिइएको तर वास्ता नभएपछि वाध्यभएर २४ गतेदेखि विद्यालयमा तालावन्दी गरिएको शाहीले जानकारी दिनुभयो । शिक्षक व्यवस्था नगरिएसम्म तालावन्दी फिर्ता नहुने विद्यार्थी शाहीले बताउनुभयो ।

प्रतिक्रिया