दैलेख पूर्ण खोप युक्त जिल्ला
दैलेख । दैलेख जिल्लालाई आइतबार पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै शिषुहरु खोपको पहुँच भएपछि पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको हो ।
दैलेखका सांसद अम्मरबहादुर थापा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले आइतबार दैलेख सदरमुकाममा आयोजित एक विशेष कार्याक्रमका साथ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका छन् । घोषणा कार्यक्रममा बोल्दै सांसद थापाले दैलेखलाई पूर्ण खोप युक्त जिल्ला बनेकोमा दैलेखवासीले गर्व गर्नुपर्ने बताए । उनले यो अभियानमा सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिँदै यो निरन्तर प्रक्रिया भएकाले आगामी दिनमा पूर्ण खोप युक्त बनाउन लागि पर्नुपर्ने बताए ।
यस्तै महानिर्देशक पन्तले सरकारले यो अभियानलाई उच्च प्रथामिकताका साथ अगाडी बढाएको भन्दै खोप नपाए बच्चाको ज्यानसमेत जान सक्ने जोखिम हुने बताए । उनले आजको बच्च स्वस्थ भए नेपालको भविश्य उज्यालो हुने भन्दै यो अभियान सबैको भएको बताए । उनले स्वास्थ्यकर्मीले बढि जिम्मेवारी लिनुपर्ने भए पनि नागरिक समाजको पनि यसमा महत्वपूर्ण भुमिका हुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर शोभित बस्नेतले अभियान सफल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि पूर्ण खोपका लागि समाज जागरुक हुनुपर्ने बताए । उनले हाल जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी गराएका थिए ।
२०७१ वैशाख १४ गते साविकको लाँकुरी गाविसबाट सुरु भएको पूर्ण खोप युक्त गाविस घोषणा कार्यक्रम २०७३ चैत्रमा पिपलकोटमा पुगेर सकिएको थियो । बच्चा जन्मेपछि एक वर्षको हुँदा सम्म दिनुपर्ने विभिन्न रोगविरुद्धका ११ वटा खोपको पहुँचमा बालबालिका भएको अवस्था नै पूर्ण खोप युक्तको अवस्था हो । ७५ वटा जिल्ला मध्ये दैलेख २७ औं पूर्ण खोप युक्त जिल्ला हो भने यस प्रदेशमा स्थानीय निकायको निर्वाचनपछि घोषणा भएको पहिलो जिल्ला हो ।
प्रतिक्रिया