घैटो निर्माण भएपछि बालबालिकामा खुसियाली

घैटो निर्माण भएपछि बालबालिकामा खुसियाली

गुरास गाउँपालिका २ डुडापोखरास्थित विपि प्रावि दलित समुदायमा रहेको विद्यालय हो । यो विद्यालयमा ९० प्रतिशत भन्दा बढी दलित समुदायकै विद्यार्थी अध्ययन गर्छन् । दलित समुदायकै विद्यालय भएको हुदाँ वर्षातको समयमा समेत विद्यार्थी र शिक्षकले खानेपानीको संकट झेल्दै आएका थिए । खानेपानी धारा निर्माण गर्न यस समुदायले विभिन्न निकायमा योजना माग गरे पनि पहुँचका आधारमा बजेट विनियोजन र योजना कार्यान्वयन गर्ने परिपाटीले गर्दा उनीहरुको माग कहिल्यै पुरा हुन सकेन् ।


दिउसो तिर्खा लागेपछि विद्यार्थी कक्षा छाडेर कुवा र खानेपानी धारा भएतिर दौडिन्थे । शिक्षकले दिनभरीको लागि बोतलमा घरबाटै लिन्थे । कोही पानी खाना गएका उतै हराउथे, कोही कोहीको कक्षा छुट्थ्यो । शौचालय थियो तर पानीको अभावमा प्रयोग गरिदैन्थ्यो । यहाँका शिक्षक र विद्यार्थीले लामो समय यसै गरी विताए ।
उक्त विद्यालयमा घैटो बनेपछि विद्यार्थी र शिक्षकले राहत महसुस गरेका छन् । विद्यालयमा अध्ययन गर्ने आफ्ना बालबालिकालाई खानेपानी सुविधाको माग गर्दै आएका विद्यालय परिवारले अब खानेपानीको समस्या झैल्नुपर्ने छैन् ।
विद्यालयका प्रधानध्यापक बृष खत्री भन्छन् ‘१ घण्टा हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएको छ ।’ हामीले मागेका योजना कतै दराजमा थन्किएका होलान् । तर सहयोग गर्ने निकाय कुनै भेटिएन् । खानेपानी धारा नहुदाँ साना बालबालिका र शिक्षकले दुःख भोग्नुपरेको पिडा सम्झिदै उनले भने ‘सबै विद्यार्थीलाई बोकेर पानी पु¥याउन नसक्दा बालबालिकाको पढाईमा समेत असर परेको थियो ।’
‘मुहानबाट खानेपानी योजना सम्भव नभएपछि आकासेपानी संकलन गर्न घैंटो बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर नेपालीको भनाई थियो ।‘ उनले भने, ‘घैटो बनेपछि विद्यालयलाई खानेपानी समस्या टरेर बालबालिकामा खुसियाली छाएको छ ।’
बाल क्लवका अध्यक्ष दिपक नेपाली भन्छन् ‘अहिले नत कसैको पढाई छुटेको छ नत घरबाटै पानी बोक्नु पर्छ ।’ साना साना भाईवहिनीलाई खानेपानीले गर्दा ठुलै समस्या भएको थियो । अहिले जतिखेर तिर्खा लाग्छ उतीखेर खाना पाएका छन् । शौचालय र विद्यालयको आगन सफा देखिन्छ ।
सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा परियोजनावाट सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले उक्त विद्यालयलाई घैटो निर्माणका लागि ८८ हजार ९ सय ७५ सहयोग गरेको थियो । अभिभावकले विद्यालयमा खानेपानीको समस्या टर्ने देखेपछि जनश्रमदान गरी घैटो निर्माण गरेका हुन । उक्त विद्यालयमा १ देखि ५ सम्म १ सय १९ बालबालिका अध्ययन गर्छन् ।

प्रतिक्रिया