मध्यकर्णाली जलाधारको स्वास्थ्य प्रतिवेदन बारे छलफल

मध्यकर्णाली जलाधारको स्वास्थ्य प्रतिवेदन बारे छलफल

दैलेख, कात्तिक २० – सामुदायिक वन उपभोक्ता महासंघ दैलेख शाखाले सञ्चालन गर्न लागेको जलीय प्राकृतिक श्रोत सुधार पानी कार्यक्रमले आज दैलेखमा सरोकारवालाहरुसंग मध्यकर्णाली जलाधारको स्वास्थ्य प्रतिवेदन बारे छलफल गरेको छ ।


जलश्रोत व्यवस्थापनका निम्ति स्थानीय सरकार, नागरिक समाज, नीजि क्षेत्र र उपभोक्ता समेतलाई आधारभूत जानकारी गराएर जलवायु अनुकूलन र जैविक विविधताको. संरक्षणमा सघाउने उद्देश्यले सञ्चालन गरिने पानी परियोजनाले वातारवरण र जनस्वास्थ्य बारे कार्यक्रमा छलफल भएको थियो ।
छलफलको क्रममा पानी श्रोतहरुमा अवरोध हुँदा ९८ प्रतिशत उपलब्धता घटेको, खानेपानीको सुविधा मुश्किलले ५० प्रतिशतमा मात्र पुगेको, पानीको श्रोतको संरक्षणमा वैकल्पिक उपायहरु बारे सरकारको तर्फबाट खास चासो नभएको लगायतका प्रमुख समस्या अध्ययनबाट पाइएको प्रतिवेदनमा उल्लेख छ ।
उक्त छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधि, नागरिक समाज, नीजि क्षेत्र र उपभोक्ता समेतलाई परियोजनाका मुख्य प्राविधिक सल्लाहकार दीपक रिजाल, जलाधार व्यवस्थापन विज्ञ भोला ढकाल र नदी बेसिन टीमलिडर भूपेन्द्र शाहीले सहजीकरण गर्नुभएको थियो ।
मध्यकर्णाली जलाधार क्षेत्र दैलेख, कालिकोट र अछाम जिल्लाका जलाधार क्षेत्रमा गरिएको अध्ययन अनुसार साना ठूला १ सय ६२ नदीनालाको पानी श्रोतको अवस्था र मुहान तथा पानीका श्रोतको संरक्षणमा सामुदायिक पहल गर्ने पानी परियोजनाको लक्ष्य रहेको सामुदायिक वन उपभोक्ता महासंघ दैलेखका अध्यक्ष मनिराम शर्माले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जलश्रोत देशको मुख्य सम्पति र वातावरण हिसावले पनि अत्यावश्यक भएकोले संरक्षण सवै क्षेत्र गम्भीर हुनु पर्ने बताउनुभयो ।
त्यस बखत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले वनसम्पदा जोगाउन उल्लेख्य काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघले पानी परियोजना चलाउन लागेकोले यो सफल हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।
कालिकोटको नरहरिनाथ गाउँपालिकाकी उपाध्यक्ष मनशोभा बुढाले देशको आमदानी बढाउन, जैविक विविधता र वातारण अनुकूलनका लागि पानीको श्रोतको संरक्षण व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया