राउटे समुदायमा मदिराको कुलत मुख्य समस्या

राउटे समुदायमा मदिराको कुलत मुख्य समस्या

दैलेख – जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले राउटे समुदायको संरक्षणका लागि मदिरापान जस्ता कुलत छुटाउन, फजुल खर्च नियन्त्रण र स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने बताउनुभएको छ । सामाजिक विकास कार्यालय दैलेखले राउटे समुदायका लागि उपलब्ध गराएको त्रिपाल, खाद्यन्न र सहायक सामग्री हस्तान्तर गर्न पुग्नुभएका उहाँले यस्तो टिप्पणी गर्नुभएको भएको हो ।

राउटे समुदायको जनसंख्या घट्दै जानुको मुख्य कारण मदिराको कुलत, सर्दै हिडाउने अव्यवस्थित बसोबास र अस्वस्थकर खानपिन लगायत समस्या रहेको प्रमुख शाहीले टिप्पणी गर्नुभयो । दिनेहरुले आवश्यकताका आधारमा दिने र दिएका सहयोगहरु सदुपयोग हुनुपर्ने उहाँको सुझाव छ ।

राउटे समुदायलाई सामग्री हस्तान्तर गर्न पुग्नुभएकी महाबु गाउँपालिकाकी कार्यवहाक अध्यक्ष मञ्जू पाण्डेले सडेगलेको खाने कुरा खाने, व्यक्तिगत र वातावरण सरसफाईमा ध्यान नदिएको देखिएकोले हरेक छाकमा आवश्यकता अनुसार मात्र पकाउने र सरसफाई शिक्षा दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

त्यहाँ पुग्नुभएका दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले राउटे समुदायको जीवन स्तर सुधार्न प्रत्यक्ष रेखदेख तथा सहयोग गर्न निकाय तोकिनुपर्ने, राउटे समुदायको सीप अनुसार उत्पादन गरिएका सामग्रीको बजारीकरण र सामाजिकीकरणका लागि राउटे बालबालिकाको पढाइलेखाई गराउनुपर्ने सुझाव दिनुभयो ।

हरेक २–३ महिनामा बस्ती सार्दै हिंड्ने क्रममा असार दोश्रो सातादेखि महाबु गाउँपालिका–३ बालतडामा बस्तै आएको राउटे समुदायलाई सामाजिक विकास कार्यालयले ४१ परिवारका लागि हरेक घरधुरीलाई एक–एक वटा कपडाको पाल, कम्बल, तन्ना, ऐना, काइँयो, दारी काट्ने मेसिन अलवा एक सय ४१ जनालाई लगाउने कपडा र बालबालिकालाई खेलकूद सामग्री समेत दिइएको छ ।

समुदायको आवश्यकता र राउटे मुखियाहरुसंगको सल्लाहमा पुरुषहरुले नसिलाएरै लगाउने गादो बनाउने, बालिकाहरुका लागि फराक र बयस्क महिलाहरुले आफैले सियोले सिलाउने ब्लाउज तथा लुङ्गी कपडा, माथि उल्लेखित सामग्री ४१ परिवारलाई २५ केजीको दरले चामल, दुई–दुई वटा नुहाउने र कपडा धुने साबुन समेत दिइएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख महेशकेशर खनालले जानकारी दिनुभयो । पाँच लाख ८० हजारमा ती सामग्री सहयाेग गरिएकाे उहाँले बताउनुभयाे ।

नेपालको एक मात्र फिरन्ते जीवन निर्वाह गर्दै आएको राउटे समुुदाय दैलेख, जाजरकोट, सुर्खेत र सल्यान आसपासमा घुमिरहने भएकोले नेपाल सरकारले राउटे समुदायलाई दिने सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिका मार्फत पठाउने गर्दछ ।
राउटे समुदायको जीवनस्तर सुधार गर्न, बालबालिकालाई पढाइलेखाईमा प्रेरित गर्न, स्वास्थ्य शिक्षा र सामाजिकीकरणको पहल गर्न सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरिरहेको छ । राउटे समुदायसंगै बस्तै सर्दै हिंड्ने गरी परियोजनामा दुई महिला समेत चार जना कर्मचारी परिचालन गरेको छ ।

पहिले काठपाते, जडीबुटीको भरमा उपचार गर्ने पद्धति राउटे परियोजना र सहजकर्ताहरुको लामो प्रयासपछि सामान्य विरामी पर्दा वा चोट पटक लाग्दा राउटे परियोजनामा कार्यरत स्वास्थ्यकर्मीकको सम्पर्कमा पुग्ने गरेका छन् । सोसेक नेपालले राउटे महिलाको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन महिला स्वास्थ्यकर्मी र पुरुषहरुलाई जाँच्न वा औषधि गर्नुपर्दा पुरुष स्वास्थ्यकर्मीले सहयोग पु¥याइरहनुभएको छ ।

राउटे परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायका त्यसबेला गुराँस गाउँपालिका–८ पातलेखोला बस्तीमै पुगेर एक सय ४९ जना सबैका फोटो सहितको परिचयपत्र दिएको थियो । त्यहींदेखि गुराँस गाउँपालिकाले वडा नं. ८ का बासिन्दाको गणनामा राखी राउटे समुदाय बस्तै सर्दै जहाँ गए पनि त्यही पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

त्यतिबेला परिचयपत्र लिंदा राउटे महामुखिया महिनबहादुर शाहीले आफूले परिचयपत्र लिंदा ‘अहिले परिचयपत्र त लिन्छौं पछि नागरिकता पनि बनाउनुपर्छ भनेर करकाप नगर्नू’ भनी शर्त राख्नुभएको थियो । राउटे समुदायले आफूहले पढाइलेखाई, खेती किसानी र एकै ठाउँमा बस्ती बस्न हुँदैन भन्ने पुरातन बिश्वास पालेको छ ।

राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–११ आमपानीमा स्थायी रुपमा बस्तै आएको छ । डडेल्धुरामा बालबालिका विद्यालय अनि बयस्कहरु मजदूरी गर्ने जस्ता सामान्य जनजीवनमा फर्र्किएको अवस्थामा उनीहरुलाई राउटे मान्न नसकिने दैलेखका राउटे मुखिया बीरबहादुर शाहीको टिपपणी छ । ‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके’ उहाँको तर्क छ ।

प्रतिक्रिया