दूध र मासुमा आत्मनिर्भर बागलुङ

दूध र मासुमा आत्मनिर्भर बागलुङ

बागलुङ –   जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको संख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको संख्या वृद्धि भएको हो ।

गत वर्षभन्दा आव २०७९/८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन् ।

जिल्लाभर ७४७ फार्मले व्यावसायिक पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन् । आव २०७८/०७९ मा यो संख्या ७१० मात्रै थियो ।भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाका अनुसार फार्म वृद्धिसंगै जिल्ला मासु र दूधमा आत्मनिर्भर भएको छ ।

१ वर्षमै १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको ११९ पुगेका छन् । व्यावसायिक बाख्रा पाल्ने किसानको संख्या पनि उल्लेख्य वढेकोे छ ।

गत वर्ष १० वटा व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन्न् भने बाख्रा फार्म १९७ पुगेको छ । गाई फार्म ७२, भैँसी फार्म ८५, भेडा फार्म २९ र बंगुर फार्म १०७ पुगेका छन् ।

लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन् । पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको संख्या जिल्लामा ५ पुगेको छ भने मिश्रित फार्म ७ र अन्य पशुपक्षीजन्य फार्म ३ वटा छन् ।

जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको पशुसेवा विज्ञ केन्द्र प्रमुख सापकोटाले बताउनुभयो । सवैभन्दा धेरैले वाख्रा पाल्दा गाईभैँसी, कुखुरा र बंगुर पाल्ने किसानको संख्या पनि वढ्दो क्रममा छ ।

पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । २ लाख ४९ हजार २११ जना बाग्लुङमा बस्छन् । जसले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध खान्छन् ।

जिल्लामा हाल प्रतिव्यक्ति साढे ९२ लिटर दूध उपलब्ध हुन्छ । १ व्यक्तिवरावर ४८ वटा अण्डा खपत हुँदै आएको मा हाल जिल्लाको उत्पादनले प्रतिव्यक्ति ४४ वटा मात्र धान्दै आएको छ ।

प्रतिक्रिया