'ऐँठन' पुस्तक चर्चा

उपन्यास पढ्न थालेपछि पछिल्लो पाना पल्टाएर उपन्यासकारको तस्बिर पटक पटक हेरेँ र सोचेँ– यस्तो कष्टकर यातनाको पराकाष्ठा कसरी लेख्न सक्या होला ?

'ऐँठन' पुस्तक चर्चा

कुनै काम आरम्भ गर्नु पूर्व मस्तिष्कले एउटा तस्बिर खिच्दछ । तर, सबै सुन्दर र पूर्ण हुन्छ भन्ने छैन । त्यस्ता अपूरो र अमूर्त तस्बिरहरू कहिलेकाहीँ सपनीमा आउने गर्छ । एषणाका भारी बिसाउने चौतारी भनेकै सपनाको संसार रहेछ । यस्तै, सपना र कल्पनाको सम्मिश्रणले नै परिवर्तनको खोज गर्दछ । 

वियोगमा होस् या सुयोगमा, कर्ममा होस् या मर्ममा, शक्तिमा होस् या भक्तिमा, सत्ताको लागि होस् या मुक्तिको लागि पहिला सपना नदेखी त्यहाँ पुगिन्न । कुनै चिज नयाँबाट नै पुरानो हुने हो । पुरानो संरचनालाई समयले छोप्दै लगेपछि भत्किन्छ या त भत्काउनु पर्ने हुन्छ । र, त्यहाँ फेरि नयाँ संरचना खडा हुन्छ । त्यसैले, विनास नै विकासको मूल मन्त्र भन्दै जप्न थालेपछि आख्यानलाई पनि ऐँठन पर्ने रहेछ । 

विवेक ओझाको ‘ऐँठन’ उपन्यासले यसपालि मदन पुरस्कार जितेको छ । यो उपन्यास पढ्न थालेपछि मैले लेखकलाई गम्भीर रूपमा लिएँ । अनि पुस्तकको पछिल्लो पाना पल्टाएर उपन्यासकारको तस्बिर पटक पटक हेरेँ र सोचेँ– यस्तो कष्टकर यातनाको पराकाष्ठा कसरी लेख्न सक्या होला ? 

उपन्यास पढ्दापढ्दै कुनै ठाउँमा रोकिनुपर्छ । किनकि हृदय निचोरिन्छ, आँखा रसाउँछ । आफ्नै शरीर रगतमा डुबेको प्रतीत हुन्छ, आत्महत्या गरूँ लाग्छ । फोक्सो माटोले भरिन्छ, भागूँ, उफ्रूँ, हाम्फालूँ जस्तो भएर ऐंठनको महसुस हुन्छ । र, पनि पढूँ पढूँ लागि नै रहन्छ । स्वैरकल्पना हो, भन्ने लाग्दा लाग्दै पनि जिज्ञासाको त्यान्द्रोले तानिरहन्छ । आफूलाई उपल्लो मनस्थितिमा पु¥याएर लेख्न सक्नु नै लेखनकलाको चमत्कारिक पक्ष लाग्यो । अनेक घटना परिघटनाको प्रसङ्गसँगै लेखकले मुख्य पात्र बबन कुमारलाई एउटा सुविधासम्पन्न भनौ या भुलभुलैया लाग्ने विशाल अस्पतालमा पु¥याउँछ, जहाँ डाक्टरले बबनको कथाकहानीको रिपोर्ट खोतल्दै उपचार गर्दछ । 

बालमनोविज्ञानको छोटो प्रसङ्गमा ‘बाबा टपाईं मामुसँग केईले बे गर्ने ?’ वात्सल्य मनको प्रश्नसँगै घरको वरपर जतातत्तै बमबारीको ठूलो आवाजले त्रास फैलाउँछ । हुँदाहुँदै कोठाभित्र आमा, बाबु र छोरामध्ये उर्र्मिमलालाई गोली लाग्छ र त्यहीं ढल्छे । त्यो अत्यासलाग्दो वातावरणमा ‘बाबा हाम्लाई केई हुन्न । हाम्ले केई पाप गरेका छैनौँ’ छोरा प्रह्लादले भनिसक्दा आमा आफ्नै रगतमा डुबेर अचेत भइसकेको कथानक प्रस्तुतिले घोच्नुसम्म घोच्यो मलाई । 

कथानकअनुसार घरबाहिर भीषण गोला बारुद चले पनि बबनले श्रीमतीलाई काँधमा राखेर एक हातले छोरालाई डो¥याउँदै अस्पतालतिर लाग्छ । जङ्गलको बाटोमा विद्रोहीहरूसँग भेट भयो । राज्यसत्ता नै परिवर्तन गर्न ज्यान फालेर हिँडेकाहरूलाई बबनले धेरै अनुनय विनय गरे तर खुनसँग खेल्नेले छाडेन । समाईरहेको छोरालाई हातैमा मारिदिए । श्रीमती काँधैमा सास छोडेर लत्रिइन् । 

एक्लो निरीह शिक्षक बबनले छापामारको खुट्टा समाए । तर, उल्टै उनको निधारमा बन्दुकको नाल तेर्साएपछि निधारबाट देब्रे छातीमा आफैले नाल सारिदिए तर ठोकेन, बबन बाँचे । 

मुसलधारे पानी परिरहेकोले अँध्यारोमा कतै गाडियो आमा छोरालाई । जता छाम्यो, गिलो माटो मात्र । कति कुटाई र अनौठा सजायहरू भोग्दै बबन त्यो दिनदेखि विद्रोही पक्षको बन्दी भयो । त्यसपछि जिउँदो लाशसरी उनीहरूको पछि पछि लाग्न बाध्य भयो । उसको रोदन, क्रन्दन कसैले सुनेन । 

बरू दोस्रो विश्वयुद्घकी साक्षी सोराले हस्पिटलको बेडमा सुनाएको हिरोसिमाको विध्वंस र विक्षिप्त घटनाबाट बबनले आमाछोरा गुमाएको दिन सम्झेर चित्त बुझायो । 
दया, करुणा नभएको एडोल्फ हिटलरलाई प्रेमको नाममा उदाहरणस्वरुप त्रासदीपत्र लेखाएर आख्यानकारले रूपान्तरणको आगो बाल्ने सङ्केत गरेका छन् । जसले लडाकु छापामारलाई मात्र होइन, पाठकको समेत रगत तताउँछ भने रोमाञ्चक घटनाहरू पनि भेटिन्छ ।

आख्यानकारले काट्नु, मार्नु, रेट्नु, रोप्नु, चिर्नु, ठोक्नु, अनुहार च्याक च्याक पार्नु, जिउँदै माटोमा पुर्नु, करेन्ट लगाउनु जस्ता क्रूर यातनालाई समाविष्ट गरेर परिवर्तनकारीलाई झन् विद्रोहको आह्वान गरेको झैँ देखिन्छ । 

आम नागरिक दोहोरो चपेटामा परेपछि कतिले बाध्य भएर विद्रोहको बाटो समाए । राज्यका सेनाले गाउँमा पसेर लाल सलाम भनेकै भरमा गोली ठोके । फेरि गद्दार सेनाको बदला लिन त्यै विधवालाई लडाकु बनाए । कतिलाई बाँधेर भिरपाखामा घिसार्दै मारे । बन्दीहरूलाई कुभिन्डे दहमा फाले । आत्मसमर्पण गरेका प्रहरी, सेनाको छातीमा खुकुरीले चिर्दै क ख लेखियो । अइया, आत्थाको चित्कारमा जिब्रो थुतेर काटियो, हात गँेडियो । त्यो काटेको ठाउँमा माया भन्ने छापामारले खोर्सानी धुलोको लेप लगाई र त्यसपछि सबैको सामु घाँटी रेटेर मारिदिन्छे । व्यवस्था परिवर्तनको लागि नारीशक्तिको आक्रोशले मन सिरिङ्ग पार्छ । 

हुन त, यो उपन्यासको सुन्दरता नै यस्तै यातनाको चिच्याहटमा अडेको छ । बेला बेला चेस खेलमार्फत् राजालाई चारैतिरबाट छेकेर बन्दी पार्ने, तर हत्तपत्त राजाको हत्या नगर्ने प्रसङ्गले अरू सम्भावित रणनीतिको आधार क्षेत्र बनाउँछ । 

गाउँघरका छरछिमेकबीच सानो निहँुमा मारेर दोहोरो भीडन्तमा परेको भन्ने । सरकारी वा विद्रोही दुवै पक्षको क्रूर सजाय भोग्न विवश नागरिकको कष्टपूर्ण जीवनले झन् हुटहुटी जगाउँछ । 

विद्रोहीहरूले ठाउँ र परिस्थिति बुझेर कुनै ठाउँमा दोहोरी गीतले मन जित्ने, कतिलाई प्रभावमा पारेर लडाकु बनाउने । जङ्गलमै छापामार लडाकुहरूले जनवादी विवाह गर्ने । हाते माईकमा उत्तेजित भाषण गरेर गद्दारको छाया भेटे पनि काटूँ काटूँ पार्ने वर्णन छ । 

महाभारत महाकाव्यमा उही कुरुक्षेत्रको भीषण युद्घलाई उल्लेख गरेको उपकथाहरूमा आफ्नो सुन्दर अनुहारमा आफैले एसिड हालेर कुरुप बनाएको कथा चन्द्रकलाको डायरीमा भेटिन्छ । ब्यारेकभित्र राखेर राज्यले चन्द्रकलामाथि चरम यौनहिंसा गरेको प्रसङ्गलाई नौरङ्गी माछाको प्रतीकात्मक लेखनशैली बडो चाखलाग्दो छ । जसले द्वन्द्वकालको चलचित्रलाई पर्दामा उतार्छ ।

गाउँबस्ती र जङ्गल चाहार्दै, सुराकी र आक्रमणको तयारी गर्दै मङ्गलसेन हान्न बबनलाई पनि साथसाथै लानुमा कथाशृङ्खलाले निरन्तरता पाउनु हो । जीवनलाई धारिलो धारमाथि राखेर चक समाउने बबनको हातले खुकुरी र बन्दुक समाउन बाध्य थियो । विद्रोहीहरूले चारैतिरबाट घेरेर उग्र र अति आक्रमक शैलीमा मङ्गलसेन ध्वस्त पारे । रगतको खोला, मर्ने मार्नेको हिसाब रहेन । सबै सखाप पारे । कतिले वीरगति प्राप्त गरे । 

घाईते भएकी शशीले आफूलाई मार्न आफ्नै प्रेमी ज्वालालाई गुहारे तर अर्कोले गोली हानेर हत्या गरेको प्रसङ्गले के जनयुद्घ यस्तै थियो होला त ? आँखा अगाडि पे्रमिकालाई आफ्नै साथीले गोली ठोकेर मारेपछि ज्वालाले देखाएको मायावी भ्रान्तचित्त, युद्घ र प्रेमको मूल्याङ्कन गर्न पाठकलाई नै जिम्मा दिइएको छ ।

मङ्गलसेनको सफलतापछि बल्लतल्ल फुत्केर बबन फर्कदै थियो, फेरि सेनाको कब्जामा प¥यो । सेनाले दिएको यातना त वर्णन नै गर्न सकिन्न । ‘खाजा खाने’को अर्थ गोली खाने कोड भाषाको प्रयोगदेखि सेनाको क्याप्टेनले घुस खाएर कतिलाई रिहा गरेको खुलासा । जङ्गलमा लगेर भाग्न लगाई पछाडिबाट गोली हान्ने दिनमा कति सिद्घिए तर बबन रुखमा छलिँदै झाडीभित्र लुकेर बाँचे र कथाले फेरि निरन्तरता पायो । 

बबनले अनेक ठाउँ र गाउँहरू छिचोल्दै जाँदा अठार वर्ष अघिको छापामार गोकुलसँग भेट भएको प्रसङ्गसँगै गाउँमा भएको एकमात्र टीभी हेर्दै नेता र भविष्य सम्झेर अल्झिरहेका दुःखी आत्माहरू । यता द्वन्द्वपीडित र अपाङ्ग लडाकुहरूले बिताईरहेका पीडादायी जीवनको सम्बोधन कसले गरिदेला ? पहिलाको कमान्डर राकेश नेता भएपछि हेलिकप्टर चढेर गाउँ पुग्दा सबैले स्वागत गरे । तर त्यो गाउँले के पायो त ? प्रश्न उठ्छ । 

उपन्यासकारको कल्पनाशक्तिले अत्याधुनिक अस्पतालभित्र फनफनी घुमाएर रनभुल्ल पार्छ र पुरानो बाकसको कपडा र गोल्डस्टार जुत्ता मुसालाई खुवाएर चकित पार्छ । निर्जन जङ्गलभित्र भेटेको होटलको मेन्युमा मान्छेको मासुको परिकार सित्तैमा पाउनेदेखि त्यहाँको फुच्चेले ‘सर छुराले कपीमा किन लेख्दैन ?’ यस्ता प्रश्नले विरोधाभास र अर्थपूर्ण सन्देश दिन खोज्नु पनि ऐँठन परेर अल्मलिनु जस्तै हो । 

विज्ञान, प्रविधि र आविष्कार अनि सपना, कल्पना र वास्तविकता सहितको परिकल्पनाले दिमाग चाटिरहँदा बाघले बाघ र कुकुरले कुकुर मार्दैन । तर, यहाँ मान्छेले मान्छेलाई मारिरहेको भनाईले महत्वाकांक्षी सपना देखाएर ऐँठन पार्छ । 

समग्रमा उपन्यासले परिवर्तनको सिङ्गो एजेन्डा बोकेर हिँडे पनि स्वैरकल्पनाले कता कता पु¥याउँछ । तर, ऐँठन नाम दरिलो खम्बा भएर उभिएको पाइन्छ । भाष्य निर्माण र लेखनशिल्पमा दम देखिए पनि यातनाका शब्दहरू रगतमा चोबल्दै निकालेजस्तो लाग्छ । आदि खण्डको मङ्सिर अठ्ठाईसमा बाँचेको मूल पात्र बबन कुन माध्यमबाट अस्पताल पुग्यो होला । मुख्य, सहायक होस् या गौण पात्रहरूको चरित्र चित्रण जति विद्रोही पक्षमा पाइन्छ, त्यति सत्ता पक्षमा देखिन्न । 

यस्तै, औपन्यासिक प्रवृत्तिको मध्य भागतिर लामो समय अस्पतालमा बिताएको बबनलाई सोराले नगद दिएर बिदाई गर्दा चन्द्रकलासँग कुनै सम्वाद गराएको भए अझ राम्रो हुन्थ्यो होला । त्यहाँबाट बबनले अस्पतालको ड्रेस खोलामा फालेर गाउँमा जाँड खाँदै गन्तव्यहीन हुनुभन्दा शान्तिपुरको खोजीतिर हिँडेको भए पनि हुन्थ्यो । 

उता, राज्यबाट विद्रोही पक्षलाई निस्तेज पार्ने वा वार्ताको प्रयाससम्म गरेको देखिन्न । अन्त्यतिर मङ्गलसेन कब्जापछि अन्य आक्रमण र जनयुद्घको गतिविधिहरू के कसरी चल्यो होला र सफल भयो ? एकैचोटि उन्नाईस वर्षपछि कमाण्डर राकेशमार्फत् विजयीको सङ्केतले आमनागरिक र पाठकलाई न्याय दिलायो त ? क्रान्तिमा होमिनु बाध्यता हो कि आवश्यकता ? यी प्रश्नले पिरोली रहन्छ ।

परिवर्तनको लागि नेपाली साहित्य जगतमा विवेक ओझाको ‘ऐँठन’ उपन्यास नौलो बिहानी भएर उदाएको छ । २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत उपन्यासकार ओझालाई हार्दिक बधाई । उनका नयाँ आख्यानले थप नयाँ गोरेटो पहिल्याऊन्, शुभकामना ! 

प्रतिक्रिया