गाउँमा वसोवास गर्दै आएका स्थानीयको पुस्ता अभिलेखीकरण गरिने

गाउँमा वसोवास गर्दै आएका स्थानीयको पुस्ता अभिलेखीकरण गरिने

सिमकोट – गाउँमा वसोवास गर्दै आएका स्थानीयको पुस्ता अभिलेखीकरण गरिने भएको छ। आफ्नो अघिल्लो पुस्ताबारे पछिल्लो पिँढीलाई जानकारी नहुने देखिएपछि सिमकोट गाउँपालिका– ५ ले उक्त कार्य गर्न लागेको हो।

वडाध्यक्ष चीनबहादुर रावतले हालको पुस्ताले आफ्नो अघिल्लो पुस्ताबारे जानकारी नभएको बताउन थालेपछि यसलाई सहज रुपमा जानकारी पाउने किसिमले अभिलेखीकरण गर्न लागिएको बताउनुभयो ।

वडामा रहेको ३१२ घरधुरीकै कम्तीमा पनि सात पुस्ता यताका परिवारका बाजेको नाम अभिलेखीकरण गर्ने कार्य हुने उहाँले बताउनुभयो ।

यसले गर्दा अहिलेका पुस्ताले आफ्ना पुराना बाजेको नाम सहजै थाहा पाउन भन्नका लागि वडाले यस्तो कार्य गर्न लागेको हो। वडा भरिका घरधुरीको अभिलेख लिइसकेपछि त्यसलाई कम्प्युटरमा प्रबिष्ट गरिनेछ। सो अभिलेखलाई वडाले आफ्नो वेबसाइटमा राख्ने कार्य पनि गर्न लागेको छ। यसबाट जो जता बसे पनि आफ्नो पुस्ताबारे जानकारी लिन सहज हुने विश्वास वडाले लिएको छ।

अभिलेखमा वडामा रहेका कुन जातका पुर्खा कताबाट आएको कुरालाई पनि समेटिनेछ। उक्त वडा बोहरा, रावत, रोकाया, दमाईं, कामी र सुनार बस्दै आएका छन्। यो कार्यका लागि वडाले बजेटको व्यवस्थासमेत गरेको र अब काम चाँडै अगाडि बढाइने भएको छ।

प्रतिक्रिया