आय आर्जनका लागि च्याउ खेतीमा महिला

आय आर्जनका लागि च्याउ खेतीमा महिला

सिमकोट – आय आर्जनका लागि महिलाहरू च्याउ खेतीमा लागेका छन्। तरकारीका रुपमा च्याउ बजारमा बिक्री हुने र आम्दानी गर्न सकिने भएपछि महिलाहरू च्याउ खेतीतर्फ आकर्षित भएका हुन्।

सिमकोट गाउँपालिका– ६ को माथिल्लो गाउँकी किसान लालमति सुनारले च्याउ खेतीबाट आम्दानी हुने भएपछि यसतर्फ लागेको बताउनुभयो । कातिकमा उनले च्याउ खेतीका लागि ग्रिनहाउस तयार पारेर च्याउ लगाएकी थिइन्। उनले हाल बिक्रीका लागि च्याउ तयार भएको र बिक्री पनि सुरु गरिएको बताउनुभयो । च्याउलाई हिउँद र वर्षा दुवै सिजनमा उत्पादन गर्न सकिने भएको कारण किसानलाई सहज भएको हो।

 च्याउ खेतीसम्बन्धी तालिम लिने अवसर पाउँदा त्यसबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने कुरा जानकारी पाएपछि यसतर्फ आफू आकर्षित भएको उहाँले बताउनुभयो । हुम्लामा च्याउ प्रतिकेजी साढे तीन सय रुपैयाँमा बिक्री हुने गरेको छ।

उहाँले हालसम्म तीन हजारको च्याउ बिक्री गरिसकेको र यो क्रम जारी रहेको बताउनुभयो । त्यसैगरी सिमकोट गाउँपालिका–२ कि किसान नानी भण्डारी जिल्लामा च्याउखेती गर्ने व्यावसायिक किसानका रुपमा चिनिँदै आउनुभएको छ ।

उहाँले चार वर्षदेखि च्याउ खेती गर्दै आउनुभएको छ । उहाँले वर्षमा डेड लाख रुपैयाँको च्याउ बिक्री गर्दै आएको बताउनुभयो । यता, खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा गाउँका बबरजंग हमालले च्याउ खेती आम्दानीको राम्रो स्रोतका रुपमा रहेको बताउनुभयो ।

परिश्रम पनि बढी लाग्ने र ठूलै परिमाणमा खेती गर्न सके आम्दानी पनि राम्रै हुने देखिएको छ। उहाँले वर्षमा च्याउ खेतीबाट उक्त गाउँका चार जना किसानले चार लाखभन्दा बढीको च्याउ ब्यापार सदरमुकाम सिमकोटमा पुगेर गर्ने गरेको बताउनुभयो ।

च्याउ आम्दानीको राम्रो स्रोत हुन थालेपछि गैरसरकारी संस्थाले जिल्लामा बढी लगानी गर्न थालेका छन्। उनीहरू किसानलाई च्याउको बीउ, प्लाष्टिक र अन्य आवश्यक सामग्री निःशुल्क रुपमा किसानलाई दिने गरेका छन् ।  यसरी च्याउ खेतीका लागि सहयोग तथा सहजीकरण गर्ने गैससको संख्या पनि बर्सेनि वृद्धि भइरहेको छ। हिउँदमा पनि च्याउ खेती हुने भएकाले हरियो तरकारी पाउनेमा च्याउ पनि पर्छ।

आम्दानीको माध्यम भएपछि किसानले आफ्नै लगानी गरेर पनि ब्यक्तिगत रुपमा च्याउ खेती गर्न थालेका छन्। यसले गर्दा पनि व्यवसायी च्याउ खेती गर्ने किसानको संख्यामा बर्सेनि वृद्धि भइरहेको पाइन्छ। च्याउखेती गर्ने किसान भने महिला छन्। यसले गर्दा पनि महिलाको हातमा प्रत्यक्ष रुपमा नगद पर्ने गर्छ। उत्पादन पनि आफैँ गर्ने र बिक्री गर्न पनि महिला आफैँ जाने गर्छन्।

प्रतिक्रिया