नेकपा एमाले दैलेखको अध्यक्षमा शाही

नेकपा एमाले दैलेखको अध्यक्षमा शाही

सुर्खेत -  नेकपा एमाले दैलेख जिल्लाको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाममा जारी आठौँ जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन् । 

यद्यपि घोषणा भने हुन बाँकी छ ।  शाही अघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित भएका थिए ।  जिल्ला विकास समितिका पूर्व उपसभापति शाही जिल्लाको राजनीतिमा चिनिएका नेता हुन् । दुई वटा क्षेत्र रहेको यहाँ जिल्ला पार्टीको नेतृत्वमा क्षेत्र नं.–१, सधैँ हाबी हुँदै आएको थियो । 

यसअघि अध्यक्ष रहेका रवीन्द्रराज शर्मा क्षेत्र –१, बाट लामो समय नेतृत्वमा रहे । यो पटक पनि क्षेत्र नम्बर एकबाट एनके बस्नेतले दाबी गरेका थिए । तर, अन्तिममा शाहीलाई नै सर्वसम्मत गरेसँगै क्षेत्र नम्बर दुईले पार्टीको नेतृत्व पाएको हो ।

अध्यक्षमा सर्वसम्मत भएका क्षेत्र नम्बर दुई अन्तर्गत चामुण्डाबिन्द्रासैनी नगरपालिका निवासी हुन् । शाही ०७९ को स्थानीय तहको निर्वाचनमा चामुण्डाबिन्द्रासैनीको मेयरमा पराजित भएका थिए । शाही दैलेखी कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् भने राष्ट्रिय भूमिका आयोग दैलेखका पूर्व अध्यक्ष हुन् ।

यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा पनि सर्वसम्मत चयन भएका छन् । अन्य पदाधिकारीमा पनि इन्चार्ज यामलाल कँडेलले सर्वसम्मत गर्ने गरी छलफल गरिरहेका छन् । कँडेल दैलेख इन्चार्ज छन् । 

प्रतिक्रिया