अल्पसंख्यक समुदायका व्यक्तिहरुले गुराँस गाउँपालिकालाई बुझाए ज्ञापनपत्र

अल्पसंख्यक समुदायका व्यक्तिहरुले गुराँस गाउँपालिकालाई बुझाए ज्ञापनपत्र

काठमाडौँ -  दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्ने यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले ज्ञापन पत्र बुझाएका छन् । गुराँस गाउँपालिकामा बसोबास गर्ने यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आफ्नो सम्बोधन गर्न तथा अर्थपूर्ण सहभागिता, समावेशिता सुनिश्चित गर्नको लागि उचित पहल गर्नका लागि गुराँस गाउँपालिकालाई ध्यानार्कषण तथा ज्ञापन पत्र बुझाएका हुन् । 

 गुराँस गाउँपालिका भित्रका यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आज गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर वि.सी र उपाध्यक्ष, शिवा कुमारी खड्का लाई संयुक्त रुपमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएको बताइएको छ  ।

उक्त ज्ञापन पत्रमा नेपालको संविधान २०७२ ले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारलाई सुनिश्चित गरेता पनि विद्यमान कानुन नीति तथा कार्यक्रम तर्जुमा गर्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई नसमेटिएको पाइएको ज्ञापनपत्रमा उल्लेख छ  ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सवाललाई संघ, प्रदेश र स्थानीय तहमा सम्बोधन गर्न तथा अर्थपूर्ण सहभागिता, समावेशिता सुनिश्चित गर्नको लागि उचित पहल गर्नुपर्ने उल्लेख गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बालबालिका तथा युवाहरूले हरेक क्षेत्रमा आफ्नो लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषताको कारणले भेद्भाव, विभेद, लान्छना तथा हिंसा भोग्दै आइरहनु परेको छ ।

अहिले पनि लैङ्गिकताको परिभाषा भित्र महिला र पुरुष लाई मात्र समेटिनु, यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायलाई सम्बोधन गर्ने गरी कुनै कानुनी व्यवस्था नहुन, विद्यालय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तकमा व्यक्तिको यौन अभिमुखिकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती र यौन विशेषता सम्ब्न्धि स्पष्ट जानकारी दिने गरी विषयवस्तु नसमेटिनु जस्ता समस्या रहेको उल्लेख गरिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार संरक्षण, सहभागीता तथा समावेशिता सुनिश्चितताका लागि तपसिलका क्षेत्रमा आफ्ना सवाल हरु समावेश गर्नको लागि स्थानीय सरकारलाई अनुरोध गरिएको छ ।
कार्यक्रममा छलफल गर्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बीसीले यौनिक तथा लैङ्गिक अल्पसंख्यको लागि आफु सधै अभिभावकीय भूमिकामा रहने र गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई सम्बोेधन गरिएको बताउनुभयो

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको क्षेत्रमा बजेट विनियोजन गरिएको र आवश्यक प्रक्रिया अपनाई कार्यान्वयन गरिने छ,’उहाँले भन्नुभयो, ‘ध्यानकर्षण पत्रमा उल्लेख गरिए अनुसार गुराँस गाउँपालिकाबाट निर्माण हुने कानुन, ऐन, नियम तथा कार्यविधि र स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकमा लैङ्गिक समानता सम्बन्धि स्पष्ट धारणा कायम गर्न यौन अभिमुखिकण, लैङ्गिक पहिचान, प्रस्तुती, यौन विशेषता सम्ब्न्धि विषयबस्तु समावेश गरिने प्रतिबद्धता छ  ।’

त्यस्तै गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्का ज्यूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुले समुहमा काम गर्दा सहज हुने र आफुहरुलाई आयआर्जन तथा सीपमूलक कार्यमा जोडिनको लागि अनुरोध गर्नुभयो साथै यसको लागि गाउँपालिका र आफुहरुको सधै सहयोग रहने जानकारी गराउनुभयो ।

कार्यक्रमको सहजीकरण सोसेक नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समावेशिता प्रबद्र्धन सम्बन्धि परियोजनामा कार्यरत परियोजना संयोजक प्रभा डाँगीले गर्नुभएको थियो । भने उक्त ध्यानार्कषण तथा ज्ञापनपत्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुह बाट नेतृत्व गर्दै समुह अध्यक्षले बाचन गरेर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष समक्ष पेश गर्नुभएकोे थियो ।

ज्ञापन पत्रमा उल्लेख बुँदाहरु

१. स्थानीय तहबाट निर्माण हुने ऐन, नियम, कानुन, कार्यविधिहरुमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवालहरुलाई समावेश गर्नुपर्ने ।

२.गाउँपालिकाको बार्षिक नीति, कार्यक्रम तथा बार्षिक बजेटमा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक
समुदायलाई उचित किसिमले सम्वोधन गर्नुपर्ने ।

३.स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक तथा पठन सामग्रीहरुमा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती र यौन विशेषताको विषय समावेश गरि पठन पाठन गराउनु पर्ने ।

४. स्थानीय सरकार मातहतका विभिन्न कर्मचारी तालिम या अन्य तालिमका प्याकेजमा यौनिक तथालैङ्गिक अल्पसंख्यकको विषय समावेश गर्नु पर्ने ।

५.स्थानीय तहबाट प्राप्त हुने विभिन्न सेवा सुविधा रोजगारीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक
समुदायका व्यक्तिहरुलाई समेट्ने ।


 

प्रतिक्रिया