सुर्खेतका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

सुर्खेतका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

कर्णाली-    स्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ ।

कार्यालयले नौ महिनादेखि पाँच वर्ष र ६–१५ वर्ष बालबालिकालाई खोप लगाउने भएको हो । खोप सेवा प्रदान गर्न कार्यालयले दुई सय २२ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको कार्यालय प्रमुख गणेशभक्त गौतमले बताउनुभयो । उहाँका अनुसार एक सय २५ बालबालिका बराबर एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।

पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताउनुभयो । खोप कार्यक्रम निःशुल्क र जीवन सुरक्षाका लागि भएकाले कसैलाई नछुटाउन उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले छुट भएका बालबालिका समेटिउन् भनेर पालिकास्तरीय खोप समन्वय समितिलाई पनि अभिमुखीकरण दिइसकिएको बताउनुभयो । “अभियानका लागि चाहिने सामग्रीको तर्जुमा भइसकेको छ”, उहाँले भन्नुभयो, “दादुरा रुबेला राष्ट्रिय खोप अभियान भएकाले यसलाई सफल पार्न सबै सरोकारवालामा समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ ।”

प्रतिक्रिया