कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’

कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’

चौतारा-  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले  ‘पोखरी योजना’ को  सुरुआत गरेको  छ ।

प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ । जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ । टारी खेतबारीलाई लक्षित गरेर बर्सादमा रोपाइँ गर्न ठाउँठाउँमा स–साना पोखरी निर्माण गरिएको वडाअध्यक्ष रोशनराज गिरी बताउँछन् ।  

त्यसैगरी, करेसाबारीका लागि घरको छतबाट खसेको पानी सङ्कलन गर्ने घरैपिच्छे पोखरी तयार गरिएको छ । प्रत्येक टोलमा भैँसी आहाल बस्ने पोखरी बनाइएको वडाअअध्यक्ष गिरी बताउँछन्  ।  पानीको मूल र मुहानको प्रकृति जीवित राख्न वडाभर पाँच सयवटा साना–ठूला पानी पोखरी बनाइएको छ । यस आर्थिक वर्षमा वडामा आएको रु ८५ लाख बजेटमध्ये रु ६० लाख कृषिमा विनियोजन गरिएको उनले बताए  । जङ्गलमा झरेको पात सङ्कलन गर्न एक सयवटा खाल्डो तयार गरिएको छ । १० भन्दा बढी पोखरी घाँसको साइलेजका लागि बनाइएको छ । बर्सादमा काटेको घाँस हरियो राख्ने प्रविधि साइलेज हो । 

बर्सादभर जम्मा गरेको पानी हिउँदमा प्रयोग गरिन्छ । अहिले वडामा टनेल र ग्रिन हाउस निर्माण भइरहेको बताउँदै वडाध्यक्ष गिरी भन्छन्, “पशुपालन र हिउँदे तरकारीबाट किसानलाई आम्दानी बढी दिने लक्ष्य लिइएको छ ।”

किसानलाई मानसिकरुपमा कृषि कर्ममा तयार गर्नका लागि वडाअध्यक्ष  किसानसँग भेटघाट गर्ने, विकास निर्माणमा श्रमदानलाई प्राथमिकता दिने र पशुपालन एवम् कृषिमार्फत गाउँलाई समृद्ध बनाउने खाका  कोरिरहन्छन्  । त्यसैले त अध्यक्ष गिरीले अनुदानलाई भन्दा पनि उत्पादनलाई बढी जोड दिएको पाइन्छ । वडाअध्यक्षले बाख्रा वितरणलाई प्राथमिकतामा राखेका छन्  ।

केही सीमित किसानलाई बाख्रा वितरण गर्ने र ती बाख्राबाट उत्पादन भएकालाई पुनः अर्को किसानलाई वितरण गर्दै जाने उनको योजना रहेको छ । यो क्रमले सीमित स्रोतबाट सबै किसान लाभान्वित हुनाका साथै सबै किसान छोटो समयमै पशुपालनमा आत्मनिर्भर हुने अध्यक्ष गिरीको विश्वास छ ।

प्रतिक्रिया