कपुरकोट–सिमकोट ‘सङ्गठन सुदृढ यात्रा’ तय गर्दै कांग्रेस युवा नेता शाही

कपुरकोट–सिमकोट ‘सङ्गठन सुदृढ यात्रा’ तय गर्दै कांग्रेस युवा नेता शाही

कर्णाली -   नेपाली कांग्रेसका युवानेता भूपेन्द्रजङ्ग शाहीले सल्यानको कपुरकोटबाट हुम्लाको सिमकोटसम्मको ‘सङ्गठन सुदृढ यात्रा’ तय गर्नुभएको छ । 

कर्णाली -    प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस ‘सङ्गठन सुदृढ यात्रा’ शुक्रबार सल्यानबाट सुरु गर्नेगरी तय भएको जानकारी दिनुभयो । कर्णाली प्रदेशका १० वटै जिल्लामा पुग्नेगरी ‘नेपाली कांग्रेस सङ्गठन सुदृढ यात्रा’ सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । 

नेपाली कांग्रेसको गौरवशाली इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान, वर्तमान पुस्ताको ऊर्जालाई अभिवृद्धि र भावी पुस्तालाई कांग्रेसमा जोड्ने तथा अग्रजदेखि युवा पुस्तासम्म भेटघाट, छलफल, बहस, अन्तक्र्रियाको माध्यमबाट पार्टीलाई भावनात्मकरूपमा एकताबद्ध गराएर सङ्गठनलाई बलियो एवं सशक्त बनाउँदै थप ऊर्जाशील र गतिशील बनाउने मूल उद्देश्यले पार्टी ‘सङ्गठन सदृढ यात्रा’ थालिएको नेता शाहीले बताउनुभयो ।

कांग्रेसलाई चलायमान र जागृत गर्दै भातृसंस्था तथा शुभेच्छुक संस्थाका नेता, पार्टी पङ्क्ति र कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्न, उत्साह तथा उत्प्रेरणा जगाउन यात्रा अभियान आरम्भ गर्न लागिएको नेता शाहीको भनाइ थियो । “गाउँ टोल तहमा रहेर काम गरिरहेका नेता, कार्यकर्ता नै सङ्गठनका मूल आधार हुन्”, उहाँले भन्नुभयो, “पार्टीलाई जनतासँग जोड्न र जनताको भावनालाई पार्टीसम्म जोड्न यो अभियानले धरातलमै भेटेर संवाद गर्नेछ ।”

कांग्रेसलाई सशक्त, सवल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने पार्टी सदस्यको कर्तव्य र दायित्व भएको उल्लेख गर्दै नेता शाहीले अभियानका लागि केन्द्रीय तथा प्रदेश नेतृत्वसँग सल्लाह सुझाव लिइएको बताउनुभयो ।

प्रतिक्रिया