मदिरासँगका सम्झनाहरु : समय र स्वादको यात्रा

मदिरासँगका सम्झनाहरु : समय र स्वादको यात्रा

निर्मल अधिकारी 
त्यो दिन वर्षको अन्तिम दिन थियो । मैले सोचे जिन्दगीमा धेरै पिए र  धेरै पिलाए । अब भोली देखि नयाँ वर्ष । उकालो चढदै गरेको उमेर अनि ढल्किदै गरेको जवानीमा स्वास्थ्य र सामाजिक प्रतिष्ठा दुवैको लागि पिउनु राम्रो थिएन । त्यसैले सोचे यो पिउने र पिलाउने दुवै काम बन्द गर्दछु । यसरी हरेक वर्षका अन्तिम दिनलाई विषेश दिन मनाउदै आएको मैले एक दशक भन्दा बढि समय विताए । 

मलाई मदिरा पिउनका लागि पनि विशेष स्थानहरु मन पर्थे । धेरै ठुलो भिड र धेरै ठुला होटलहरु मन पर्दैन्थे  । कहिले क्याविन भित्रको एकान्तता मन पर्थ्यो । कहिले अग्लो घरको छत मन पर्थ्यो त कहिले मदिराको चुस्कि सँगै खोलाका बगर र पानिका छालहरु हेर्न मन लाग्थ्यो । 

मदिरासँगका धेरै तिता मिठा यादहरु छन । मदिरासँगै मस्तले निदाउथे अनि श्रृष्टि र श्रृजनाको कल्पना गर्थे । मदिराको नसामा मस्तसँग विलिन हुन्थे  ।  सानो पसल अनि भित्रपट्टीको अध्यारो कुनामा लगाईरहेको चुस्किले कहिले अग्लो पहाडको चुचुरामा पुराउथ्यो त कहिले गहिरो खोचमा धकेल्थ्यो । अनि खुला र चौडा  राजमार्गमा यात्रा गराउथ्यो । यसरी मन भित्र बेजोडले आधी आउथ्यो कि म अर्कै दुनियामा छु र मेरो रँङ्गिन दुनिया बेग्लै छ । 

कहिले नम्रता सिकाउथ्यो मदिराले त कहिले दानवता सिकाउथ्यो ।  मसँग माया, ममता र स्नेहका क्षणहरु धेरै छन् ति दानवरुपी व्यवहारहरु नगन्य होलान । र ति अहिले यादमा पनि छैनन् ।  
मैले ती मदिरासँग गाँसिएका यादहरुलाई सम्झिदा लाग्छ, मलाई तिनीहरूसँग भएका अनगिन्ती अवसर र उत्सवहरूको सम्झना आउँछ ।

मलाई प्राय मदिरा सेवन गर्ने मन नदिका छाल हेर्दै झुप्रामा बसेर पानीको चाल हेर्न मन लाग्थ्यो । रारातालको डिलमा बसेर वियर पिउदै तालको सौन्दर्यता सँग घण्टौ सम्मा विलिन भएका क्षणहरु छन । खप्तडको पाटनमा हराएर, कर्णाली र बुढिगँगाको गति नियाल्दै सडकको छेउछाउका पसलमा बसेर मदिरा पिएका क्षणहरु कम सम्झिन लाएक छैनन । नदिको तिरमा पानीको कोमल प्रवाहलाई अन्तर हृदयको माध्यमबाट सयर गर्दा प्राप्त हुने सुखदायक क्षण र आउने चिसो हावाले भावनाहरु यसरी बग्नथे कि त्यसको गति नाप्ने कुनै यन्त्र सायद ससारमै छैन होला । पेय पदार्थको स्वाद, चम्किलो पानीको दृष्य, छालामा घामको अनुभूती,  कपालमा ठोक्कीने हावा र प्रकृतिको आवाजले दिने आन्नद वर्णन  गरेर सम्भावना नै छैन् । 

जब म ती मदिराहरूको सम्झनाहरूमा टोस्ट गर्न मेरो गिलास उठाउथे मलाई मानव अनुभवको सौन्दर्य र जटिलताको सम्झना आउथ्यो । ति सम्झनाहरु आन्नद, सुख, दुख र प्रेमसँग गासिएका हुन्थे । जिवनका हरेक सुख र दुखका क्षणहरुमा ति चुस्किहरुले साथ दिएका छन । 

शनिवारको दिन अर्काे एक जना भाइ  र म एउटा त्यस्तै सानो गाउको कटेजमा मदिरा पिउन गयौ । त्यो दिन पनि हामीले दिन नढल्किएकै मदिराको स्वाद लिन शुरु गरिसकेका थियौ । उनको पसलमा केही खुद्रा सामान र मदिराका बोतल बाहेक अरु सामाग्री केही थिएन्न । माछी काडे आकारमा बासको चोयाले कटेज निर्माण गरिएको थियो । हामीलाई खुल्ला ठाउ र हावाको वेग नै मन पर्ने भएकाले भित्र नबसी बाहिरै बसेर पिउन सुरु  गर्यौ।

हामी रक्सिको चुस्कि लगाईरहेका थियौँ  । टेबलभरी हरिया बोतलहरु छरपष्ट देखिन्थे । उनको मुस्कानले हामीलाई स्वागत गरिरहेको आभाष मिल्थ्यो । गहुगोरो वर्ण उज्यालो अनुहार र उनको न्यानोपनले मदिराको चुस्कि सँगै वास्तविक आनन्दको अनुभूति दिइरहेको थियो । हाम्रा गिलास खाली हुदै जाँदा उनले गिलास भर्दै जान्थिन ।

उनका आखाहरुको हाउभाउ र बेलगामको घोडा जस्तै हासोले ओठहरु चम्किरहेका देखिन्थे । झरनाको प्रवाह जस्तै उनको लामो कपाल अनुहार र हावामा असरल्ल परेर उडिरहदाँ मदिरा स्वादको आन्नद बेग्लै लाग्थ्यो । उनको इमान्दारीताको पोखरी भावनाहरुमा प्रतिबिम्बित भएको पत्तै नपाई एक कार्टुन वियएर सकिएछन् । नसाँले झुम्मिएका हामी अध्यारो रातिमा लडबडाउदै आफनो आवसतिर लागिएका नमिठा अनुभवहरुले कहिलेकाही घोचिरहन्छ ।

विगतहरु भन्दा त्यो वर्ष मैले पिउने मात्रा बढाएको थिए । मात्रा मात्रै बढाएको थिइन्, रङ्ग पनि बदलिएको थियो । हरियो, रातो हुदै सेतो मन पर्न थाल्यो । एउटाले टसमस नहुने भएपछि दुईरदुई वटा थपिन शुरु भए । प्राय स् रात्रिकालिन समयमा सवार हुने म दिवाकालिन समयमै सवार गर्न सुरु गरे । 

नयाँ वर्ष देखि न पिउने निधो गरेकाले अघिल्लो दिन विहानै देखि शुरु गरे । किन कि त्यो दिन मदिरा पिउने मेरो लागी अन्तिम दिन थियो । मदिरासँगको लामो यात्रा अनि गहिरो सम्बन्धलाई सदाको लागि विदाई गर्दै थिए । 

त्यो दिन एउटा होटलको अग्लो छत रोजेको थिए । त्यो समय दिनको अन्त्य र रातको शुरुवात बीचको सक्रमणकालीन समय थियो । सूर्य क्षितिजको मुनि अस्ताउदा आकाशभरी न्यानो चमक र प्रकाश मधुरो हुदै थियो । मेरा हातहरुले त्यो समयको पहिलो प्याक उठाए र जलपान शुरु गरे । उज्यालो फिक्का हुदै गर्दा आकाशका रङ्गहरु बदलिदै गए । लगाएको एक प्याकले जसरी मनमा हल्का उत्साह थपियो त्यसैगरी बाहिरी वातावरण चिसो अनि सुन्तला गुलाबी र बैजनी जस्ता जिवन्त रङ्गहरुको क्यानभास चित्रण देखिन्थ्यो । 

दिन ढल्किदै गयो । रात छिप्पिन शुरु भयो । सेता बोतलहरु रित्तिदै गर्दा दिनभरीका यादहरु पनि रित्तिदै गए । मनमा रिक्तता पलायो । फेरी सोचे भोली देखि त पिउदिन एक प्याक आजै लिन्छु । त्यो प्याक अन्तिम प्याक थियो । त्यतिबेला मदिराको स्वाद र सुगन्ध सँगै पुराना याद र समझनाहरु आए । प्रत्येक बोतलले विगतका क्षण र सम्झनाहरूको स्मरण गरायो ।

ति भावना र सवेदनाहरु सामान्य अवस्थामा फर्किन कैयौ वर्ष लाग्नेछ । सायद मलाइ लाग्छ ति यादहरु नफर्किना पनि सक्छन । अनि चिताको धुवामा मडारिएर आकास तिर उडिरहनेछन । मदिरासँगका ति सम्झनाहरू स्वादको सम्झना मात्रै नभएर जीवनका अमूल्य भोगाई अनि सबैभन्दा मनमोहक पलका क्षणहरु हुन् । जुन  प्रत्येक चुस्कीमा समेटिएका थिए । 

रात धेरै ढल्कि सकेपछि अकस्मात घरको याद आयो । आज घर जानु पर्छ सायद घर नगएको पनि महिनौ  भै सकेको थियो । बाईक स्टार्ट गरे । बाईकमा चढे । करिव ३० किलोमिटरको यात्रा शुरु भयो । त्यो दुरी बिचको यात्रामा न कुनै यादहरु छन न कुनै स्मरण छ । यस अर्थमा दिमाग भित्रको शून्यताले अन्तरनिहित आत्म वा अहँकारको अनुपस्थितिलाई जनाउदै थियो ।

मुक्ति र पिडाबाट टाढा लैजादै गरेको आभाष हुदै थियो । घरमा पुग्दा म होसमा थिए वा वेहोसमा त्यो मलाई नै थाहा थिएन । यस्ता वेहोसी रातहरु मैले कैयौ विताएको छु । वेहोसीमै यात्रा गरेको छु अनि वेहोसी अवस्थामै  वातचित पनि गरेको छु । वेहोसमै रहदा आफनै मनसँग आफैले गफ गर्दाको आन्नद जिन्दगीमा अरु कुनै भेटिन । हुन त त्यो आन्नद क्षणिक थियो । तपाईलाई थाहा छ जुन हाम्रो नियन्त्रमा छैन र अल्पकालिन छ त्यसको आन्नद र खुसि बेग्लै हुदोरहेछ । सायद मदिराको आन्नद पनि त्यही भएर होला चौरासी व्यञ्जनको भन्दा वेग्लै लाग्ने । 

रातको अन्धकार फिक्का हुदै गए पछि विहानीको उज्यालो सुत्ने बेडसम्मै पुगीसकेको थियो । मेरा आखाहरु पनि विउझिए । झ्यालबाट बाहिर हेर्दा सूर्य क्षितिजमा उदायको देखिन्थ्यो । विहानाको नरम रङ्गले आकाशलाई गुलावी र सुन्तलाको छायामा चित्रित गरेको आभाष हुन्थ्यो ।  चराहरु रमाइलो गरी कराईरहेका थिए । रातभरी मदिराले गन्हाइरहेको मेरो बेड र कोठालाई चराहरुको सँगित, हावाको सितलता र फुलको सुगन्धले पवित्र बनाइरहेका छन जस्तो मलाई लाग्यो । यो सबै दृष्य मैले झ्यालबाट निहालिरहेको थिए । 

एक छिन पछि आमा कोठामा आएर भन्नु भयो बाबु तैले मलाइ राम्रो सँग बाच्न नदिने भईस । आमाको बोलि नसकिदै श्रीमतिले भनिन् यो घरमा म बस्दिन् जे गर्ने हो आफै गर्ने । त्यसपछि छोरीले भनिन् बाबा अब त अति भयो ।

यि सबै शब्दहरु मैले राम्रो सँग सुने त्यसको जवाफ म सँग थिएन् । जिन्दगी यसरी पनि निजवाफ हुदोरहेछ भनेर मलाई थाहा भयो पहिलो पटक  । म सोच्थे यो सँसारमा हरेक प्रश्नको उत्तर छ । हरेक सवालहरुको जवाफ हुन्छ । सँसारमा यस्ता प्रश्नहरु र सवालहरु पनि हुदाँरहेछन कि जसको न उत्तर भेटाउन सकिने न जवाफ फर्काउन सकिने । आमाले, श्रीमतीले अनि छोरीले भनेका ति शब्दहरु सोचीरहे । शब्दमा यति ठुलो शक्ति हुदोरहेछ ।

हाम्रा धारणाहरुलाई आकार दिने अनि विश्वासहरुलाई प्रभाव पार्ने र गहिरो तरिकाले भावनाहरु जगाउने क्षमता शब्दहरुले राख्दा रहेछन । ति शब्दहरुले मलाइ कैयौ दिन सम्मा राति राम्रोसँग निदाउन दिएनन् । त्यसपछि मैले सोचे अब कहिल्यै मदिरा पिउदिन । 

अन्त्यमा, त्यो मदिराको स्वादले मनोरञ्जन र आनन्द मात्रै दिएको थिएन् परिवार र समाजमा विखण्डन र खण्डिकरण समेत निम्त्याउदै थियो । पारीवारिक द्धन्द्ध, आर्थीक तनाव र समस्याका नतिजाहरु देखिन सक्थे । परिवारका खुसीहरु खोसिन्थे  ।

 यो क्षती शारीरिक र भौतिक  मात्रै थिएन् आफनो दैनिक कार्यमा ह्रास आउनुका साथै सामाजिक प्रतिष्ठामा समेत खलल पुग्ने सम्भावना बढदै थियो ।  त्यो केवल रक्सीको स्वाद मात्र थिएन् जिवनको भोगाई, आफनै अनुभवका कथाहरु जीवनको पर्दामा यसरी टासिएका थिएकि जस्लाई मेटाउन पुरै जिवन विताउदा पनि प्राप्त गर्न असम्भव थियो । त्यसकारण मैले सोचे,  अब देखि कहिल्यै मदिरा पिउदिन । 
मदिरा छोडेका तिन वर्ष । सरल, सादगी र सौन्दर्यको जिवन ।

नोट : यी मेरा व्यक्तिगत अनुभव हुन । कसैको जिन्दगीसँग मेल खाए अन्यथा नबुझन आग्रह गर्दछु । 

प्रतिक्रिया