एमाले रुकुम पूर्वको अध्यक्षमा गौतम

एमाले रुकुम पूर्वको अध्यक्षमा गौतम

रुकुम -   नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा लीलामणि गौतम निर्वाचित हुनुभएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रिदहमा दुई दिन सम्म चलेको ९ औँ जिल्ला अधिवेशनबाट गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

 यहाँको अध्यक्षतामा १२ जना पछि थप्ने गरी ७८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दामोदर पौडेलले जानकारी दिनुभयो । यहाँका अनुसार उपाध्यक्षमा गोपाल रेउले, सचिव तेजेन्द्र बुढा मगर निर्वाचित हुनुभएको छ ।

यस्तै उप सचिवमा पशुपति खड्का र केशकुमारी तुलाचन सर्वसम्मत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । चिन्तामणि दाहालको संयोजकत्वमा सात सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन भएको छ । जसको सचिव शोभाकर शर्मा रहनु भएको छ । शुक्रवार नव निर्वाचित जिल्ला कमिटीलाई नेतृत्व घोषणाका साथै शपथ ग्रहण र प्रमाण पत्र वितरण गरिएको हो । त्यस्तै पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण समेत गरेका थिए ।

केन्द्रीय निर्वाचन आयोग सदस्य हिरा चन्द केसीले शपथ ग्रहण गराउनु भएको हो । अधिवेशनमा लुम्बिनी प्रदेशका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधा कृष्ण कँडेल, पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्य तथा रुकुम पूर्वका इन्चार्ज नवीन रोका, रुकुम पश्चिमका पार्टी अध्यक्ष नन्दराम देवकोटा, लगायतले नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

पार्टी सङ्गठन सुदृढ करण र पार्टी विस्तार गरेर एमालेलाई आउँदो २०८४ सम्म जिल्लामा पहिलो पार्टी बनाउने लक्ष्य रहेको नव निर्वाचित जिल्ला अध्यक्ष गौतमले बताउनुभयो । त्यसको लागि सदस्यता नवीकरण देखी वडा अधिवेशन र गाउँपालिका स्तरीय अधिवेशन गर्ने बताउनुभयो । पार्टीलाई थप बलियो र सुदृढ बनाएर लैजाने अभिभारा आफ्नो काँधमा आइपुगेको भन्दै उहाँले त्यो अभिभारालाई कुशलतापूर्वक पुरा गर्ने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया