पीडित परिवार आन्दोलनमा, शव अस्पतालमा

पीडित परिवार आन्दोलनमा, शव अस्पतालमा
सुन्नुहोस्

दैलेख – सामान्य मानिस सरह हिंडेर अस्पताल पुगेकी दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया महिला भिमा गुरुङ बलामीको मृत्यू भएको छ दिन बितिसकेको छ । पीडित पक्षले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ तर सरकारका निकायहरु मौन छन् । 

हिंडेर प्रदेश अस्पतालमा पुगेकी भीमालाई मोलार प्रेग्न्यान्सी भएको भन्दै पाठेघर सफा गर्नुपर्ने भनी अप्रेसनको क्रममा चैत २९ गते मृत्यू भएको थियो । मृतकका परिवारजनले अस्पतालको टोलीले अप्रेसनमा लापरवाही गरेको कारण भीमाको मृत्यूभएको आरोप लगाएका छन् ।  

मृतककी ८ महिने छोरी बिवाङ्गसीको पालनपोषण र शिक्षाको व्यवस्था गरिनुपर्ने, परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने र दोषी स्वास्थ्यकर्मी माथि कारवाही गर्नुपर्ने पीडित पक्षले माग राखेको छ ।

आफ्ना मागहरुमा सरकारी पक्षबाट बेवास्ता भएको भन्दै मृतकको शव पोष्टमार्टम गर्न समेत अस्वीकार गरेको छन् । पीडित पक्षले भीमाको ज्यान गएको कर्णाली प्रदेश अस्पताल हाता, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुर्खेत लगायतका निकायहरुमा धर्ना दिनेसंगै सडक जामको आन्दोलन गरिरहेका छन् । 

पीडित पक्षले आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै मृतकको गाउँ आठबीस नगरपालिका–५ पिपलकोटमा आइतबार र सोमबार कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए । आफूहरुले गरेको शान्तिपूर्ण प्रदर्शनलाई बेवास्ता गरेको भन्दै आन्दोलनलाई सशक्त बनाउदै लैजाने पिपलकोटका स्थानीय हिक्मतबहादुर गाहको टिप्पणी छ । 

अहिले २४ वर्षका नमराज बलामीसंग पिपलकोटमै माइती भएकी भीमाको ५ वर्ष अघि प्रेमविवाह भएको थियो । उनीहरुको पहिलो सन्तान गएको साउन २ गते छोरी बिवाङ्गसीको जन्म भएको थियो । बिवाङ्गसी जन्मेको ४ महिनामा बसेको गर्भ ‘मोलार प्रेग्न्यान्सी’ बनेको स्वास्थ्य कर्मीहरुको भनाई छ । 

मोलार प्रेग्न्यान्सीले गर्भमा बच्चा भन्दा ठूलो सालनाल बृद्धि विकास हुने गर्दछ । महिनावारी रोकिएको, तल्लो पेट असाध्यै दुखेको र योनीबाट रगत समेत बग्न थालेपछि चैत २७ गते सुर्खेतको राना मेडिकलमा जचाउदा ‘मोलार प्रेग्न्यान्सी’ भएको थाहा भएपछि चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा पु¥याई भीमाको अप्रेसनको क्रममा ज्यान गएको थियो । 

भीमाले तल्लो पेट असाध्यै दुखेको र योनीबाट रगत समेत बग्न थालेको समस्या दर्शाएपछि नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलमा सिपाही पदमा कार्यरत भीमाका श्रीमान नमराज आफैले सुर्खेत अस्पताल पु¥याउनुभएको थियो । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको समन्वयमा पीडित परिवारजनसंग कर्णाली प्रदेशसभाका सदस्यहरु बिनोदकुमार शाह, गमता बिक, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का समेतको उपस्थितिमा छलफल भएको थियो । 

पीडित परिवारलाई अस्पतालमा रोगजारी दिने र मृतक भीमाकी छोरीको पालन पोषणका लागि सहयोग गर्ने छलफल भए पनि निश्कर्षमा पुगेको छैन । ‘छिट्टै पोष्टमार्टम गरी काजक्रिया गर्ने हामीलाई पनि मन छ । हाम्रा माग धेरै ठूला छैनन्, सुनुवाइ होस्’ भीमाका ससुरा धनबहादुर बलामीले भन्नुभयो । 
 

प्रतिक्रिया