पूर्वसांसदले मागे पेन्सन

पूर्वसांसदले मागे पेन्सन

काठमाडौं,   भदौ  १५  । पूर्व सांसद तथा संविधानसभाका पूर्व सभासदहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पेन्सन र उपचार खर्च तथा यातायातमा सुविधा माग गरेका छन् ।

Prachanda-and-Formar-Parliaपूर्व सांसद क्लबका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठको नेतृत्वमा गएका सबै राजनीतिक दल आबद्ध पूर्व सांसदहरुले सरकारले पूर्व सांसदको मर्यादाक्रम समेत निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा पूर्व सांसदहरुले बिगतमा बहालवावला सांसदपछिको बरियतामा पूर्व सांसद रहने गरेकोमा हाल त्यो व्यवस्था हटेको भन्दै दुःखेसो गरे ।

मन्त्रिपरिषद बैठकबाट पूर्व सांसदहरुको मर्यादाक्रम निर्धारण गर्न सकिने भएकाले त्यसमा आफूले छलफल गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको भेटमा सहभागी एमालेका पूर्व सांसद देवराज घिमिरेले बताए ।

पूर्व सांसदहरुले देशको सेवा गरेका र निरन्तर जनताको काममा रहेका पूर्व सांसदहरुको अवस्थालाई ख्याल गर्दै राज्यको तर्फबाट न्युनतम सुविधा उपलवध गराउनुपर्ने माग राखेका थिए ।

उनीहरुले भारत लगायत बिभिन्न देशको उदाहरण दिँदै पूर्व सांसदलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, यातायातमा छुट र ज्यूनी भत्ताका रुपमा न्युनतम मासिक पेन्सन सुविधा दिनुपर्ने माग गरेका हुन् ।

पूर्व सांसद क्लब सबै राजनीतिक दल आबद्ध नेताहरुको साझा फोरम भएकाले राजनीतिक दलहरुको बीचमा सहमति जुटाउन यो फोरमलाई उपयोग गर्न समेत आफूहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको घिमिरेले बताए ।

पूर्व सांसद क्लबको टोलीमा कांग्रेसका ओमकार श्रेष्ठ, कृष्णकिशोर घिमिरे, एमालेका देवराज घिमिरे, बिष्णुवहादुर राउत, कृष्ण महर्जन, माओवादी केन्द्रकी उर्मिला अर्याल, फोरम लोकतान्त्रिकका रामेश्वर राय यादव लगायत सहभागी थिए ।

प्रतिक्रिया