देशैभर रगतको चरम अभाव

देशैभर रगतको चरम अभाव

काठमाडौं . मुलुकभर रगतको अभाव देखिएको छ । दशैंयता रगत संकलनमा अत्यधिक कमी आएपछि काठमाडौंसहित देशैभरि अहिले रगतको हाहाकार मच्चिएको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार अहिले रगत संकलनमा सामान्य अवस्थामा भन्दा करीब दुई तिहाईले कमी आएको छ । ‘दशैंअघिसम्म दैनिक करीब २ सय ५० युनिट रगत संकलन हुन्थ्यो,’ केन्द्रका उपनिर्देशक प्रकाश यादवले लोकान्तरसँग भने, ‘तर अहिले यसमा अत्यधिक कमी आएको छ ।’

सबै समूहको रगतको अभाव रहेको केन्द्रले बताएको छ । केन्द्रका अनुसार अहिले दैनिक रगतको माग ३ सय ५० देखि ४ सय युनिटसम्म छ ।  केन्द्रका अनुसार अहिले रगतको मौज्दातसमेत सकिएको छ । ‘मौज्दात रहेको रगत दशैंकै अवधिमा सकियो,’ यादवले थपे, ‘त्यसयता रगतको संकलनमा कमी आएपछि समस्या देखिएको हो ।’

केन्द्रका अनुसार संकलन गरेको ३५ दिनसम्म मात्र रगत भण्डारणमा राख्न सकिन्छ ।  रगत संकलनमा अत्यधिक कमी आएपछि हाल केन्द्रले उपत्यकामा ‘आकस्मिक शिविर’ सञ्चालन गर्न थालेको छ । तर त्यहाँबाट पनि अपेक्षा गरिएभन्दा निकै कममात्र रगत संकलन भएको केन्द्रको भनाई छ ।

‘५० युनिट रगत संकलनका लागि सञ्चालन गरिएको शिविरमा मुस्किलले १५ युनिट रगतमात्र संकलन भएको छ,’ यादवले भने ।  रगत दान गर्न आउनेहरूको संख्या अत्यन्तै कम रहेको केन्द्र बताउँछ । अहिले केन्द्रले दैनिक उपत्यकामा मात्र तीनवटासम्म रगत संकलन शिविर सञ्चालन गरेको छ ।

लामो समयसम्म भण्डारण गर्न नसकिने र दैनिक संकलनमा पनि कमी आउँदा यस्तो समस्या देखिएको केन्द्र बताउँछ ।  देशैभरि रगतको अभाव देखिएको केन्द्रको भनाई छ । मुलुकभरका विभिन्न जिल्लाका १ सय १ स्थानमा केन्द्रका शाखा सञ्चालनमा छन् । ‘उपत्यकामा अभाव हुँदा बाहिरी जिल्लाका केन्द्रबाट रगत ल्याउन सकिन्थ्यो,’ यादवले भने, ‘तर देशैभरि रगत संकलनमा कमी आएको जानकारी प्राप्त भएको छ ।’

हालको मुलुकमा देखिएको जत्तिको रगतको समस्या गत सालको विनाशकारी भूकम्पमा पनि अनुभव नगरिएको केन्द्र बताउँछ । ‘हालको रगत अभावको समस्या भूकम्पको समयमा भन्दा जटिल छ,’ यादवले भने ।

समस्या थप जटिल भए विदेशबाट ल्याउन सकिएपनि यो राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले आयात गर्न सहज नहुने केन्द्र बताउँछ ।

रगत अभाव चुलिँदै जाँदा अहिले केन्द्रले बिरामीलाई आफन्तमार्फत रगत संकलन गर्न आह्वान गरेको छ । ‘मागअनुसार रगत पूर्ति गर्न नसकिएपछि हामीले आफन्तमार्फत रगतको जोहो गर्न आग्रह गरेका छौं,’ उनले भने ।

यद्यपि, साता १० दिनमा रगत अभाव समस्या समाधान हुने केन्द्रको दाबी छ ।

प्रतिक्रिया