नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा

नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा

काठमाडौं। नेपाल एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा शनिबार लाओसलाई ट्राइबेकरमा ३–०  ले पराजित गर्दै नेपाल अपाधि नजिक पुगेको हो ।
 मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले आफूभन्दा माथिल्लो बरियताको लाओसलाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । अब नेपालले फाइनलमा मकाउ र ब्रुनाइबीचको बिजेतासंँ खेल्नेछ ।
फिफा बरियतामा १७५ औं स्थानमा रहेको लाओसलाई पराजित गर्ने क्रममा नेपालका गोल किपर किरण चेम्जोङ नायक बने । १८६ औं बरियताको नेपाललाई जित दिलाउन गोलकिपर किरणले लाओसका दुई खेलाडीको पेनाल्टी प्रहार बचाएका थिए । लाओसका एक खेलाडीको पेनाल्टी प्रहार बाहिरिएको थियो । पेनाल्टीमा नेपालका बिक्रम लामा, हेमन गुरुङ र सुजल श्रेष्ठले गोल गरे ।
प्रतिस्प्रधात्मक खेलको निर्धारित र थपिएको अतिरिक्त समयमा नेपाल र लाओसबीच २–२ गोल बराबरीमा सकिपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलमा सुरुआती अग्रता लाओसले लिएको थियो । पहिलो हाफको १८ औं मिनेटमा जेसोनखामले हेड गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुमै नेपालका बिमल घर्ती मगरले बराबरी गोल फर्काए । खेलको ४७ औं मिनेटमा बिमलले भरत खवासको क्रसलाई हेडमार्फत उत्कृष्ट गोल गरे ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालमाथी लाओस हावी भएको थियो । लाओसले दोस्रो हाफमा नेपालको पोस्टमा पटक पटक आक्रमण गरेको थियो तर गोल गर्न भने सकेन। दोस्रो हाफको ७६ औं मिनेटमा लाओसका खानथाभोङको प्रहार पोस्ट  बारमा लागेर फर्कियो । त्यस्तै खेलको अन्तिम समयमा लाओसका खेलाडीको  प्रहार गोल लाइनबाट अनन्त तामाङले बचाएपछि खेल निर्धारीत ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको थियो ।
थपिएको ३० मिनेटको अतिरिक्त समयमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए । तर, खेल सकिन ३ मिनेट बाकी रहँदा लाओसका जेसोनखामले अर्को गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याएका थिए ।  त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
जारी प्रतियोगितामा नेपाल समूह एको बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने लाओस समूह बिको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया