यथास्थितिमा चुनाव गरे विथाल्ने मधेसी मोर्चाको चेतावनी

यथास्थितिमा चुनाव गरे विथाल्ने मधेसी मोर्चाको चेतावनी

२९ मंसिर, काठमाडौं । मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा मुलुक निर्वाचनमा गए मुठभेड निम्तिने चेतावनी दिएका छन् । उनीहरुले संविधान संशोधन विधेयकलाई परिर्माजनसहित अघि बढाउन समेत माग गरेका छन् ।

बुधबार तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय विजुलीबजारमा बसेको मोर्चाका नेताहरुको अनौपचारिक बैठकले अहिलेकै अवस्थामा निर्वाचनमा जाने निर्णय लिइए त्यो मुलुककै निम्ति आत्माघाती हुने प्रतिक्रिया दिएको छ ।

मंगलबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा चुनावमा जानेबारे सकारात्मक छलफल भएको थियो ।

अनौपचारिक छलफलपछि सदभावना पार्टीका महासचिव मनिष सुमनले यथास्थितिमा निर्वाचनमा गए मुलुककै लागि ठूलो दुर्घटना हुने चेतावनी दिए । आफूहरुले भाग नलिने मात्र होइन, चुनाव नै विथोल्ने उनले बताए ।

तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लाले मुलुकलाई जब्बरजस्ती निर्वाचनमा धकेले त्यस विरुद्ध कडा प्रतिकार गर्ने बताए । साथै संविधान संशोधन गरेर आफूहरुलाई पनि निर्वाचनमा जाने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले यथास्थितिमा निर्वाचनमा जानु मुलुकलाई गम्भीर दुर्घटनामा फसाउनु भएको बताए ।

मधेसी मोर्चाका नेताहरुले छिट्टै प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

 

प्रतिक्रिया