क्रिस्चियनले पनि सुन्न नचाहने बाइबलका केही अनुच्छेद

क्रिस्चियनले पनि सुन्न नचाहने बाइबलका केही अनुच्छेद

संसारमा सबभन्दा धेरै जनसंख्या क्रिस्चियन धर्म मान्नेहरूको छ । नेपालमा पनि पछिल्लो समयमा क्रिस्चियनहरू धेरै बढेका छन् । क्रिस्चियनहरूको धर्मग्रन्थ बाइबलमा धेरै राम्रा कुराहरू भएतापनि कतिपय अनुच्छेदहरू अहिलेको युगमा बिलकुलै असान्दर्भिक लाग्छन् । यहाँसम्म कि कतिपय त मानवताको विरुद्धमा पनि छन् । यसका आलोचकहरूले ती अनुच्छेदहरूलाई लिएर आलोचना गर्ने गर्दछन् । आउनुस्, हामी पनि ती अनुच्छेदहरू पढौं जसलाई स्वयं क्रिस्चियनहरू पढ्न या सुन्न चाहँदैनन् ।
इफेसियन्स ६ः५ मा दासहरू र उनका मालिकहरूलाई निर्देशन दिँदै लेखिएको छ, ‘हे दासहरू, तिमीहरूले आफ्नो मालिकलाई गहिरो सम्मान देऊ र उनीहरूसँग डराऊ । उनीहरूले जे भने पनि मान, उनीहरूको सेवा गर्नु नै प्रभुको सेवा गर्नु हो ।’

यो अनुच्छेद आजको युगमा एकरत्ती प्रभावकारी छैन । विश्वभर दासप्रथा उन्मूलन भइसकेको अवस्थामा बाइबलमा लेखिएका यो र यस्ता अनुच्छेदहरू बिलकुलै काम नलाग्ने छन् ।

त्यस्तै गरेर लेभिटिकस १५ः१९–२० मा लेखिएको छ, ‘यदि कुनै महिला महिनावारी भएमा उनी सात दिनसम्म दूषित हुनेछिन्, र जसले उनलाई छुन्छ, ऊ बेलुकासम्म दूषित हुन्छ । महिनावारी भएको महिला जुन चीजमा बसेपनि त्यो अशुद्ध नै हुन्छ ।’

आजको समाजमा नछुनेप्रथालाई सबैले घृणा गर्दछन् र स्वयं विज्ञानले नै महिनावारी हुँदा महिलाको शरीर कमजोर हुने तर अशुद्ध नहुने भनेर प्रमाणित गरिसकेको कुरा बाइबलमा राखिनु तर्कसंगत छैन ।
अनि मृत्युदण्डको बारेमा ड्युटेरोनोमी २१ः१८–२१डीएफमा राखिएको अनुच्छेदलाई आधुनिक चेतना भएको कसैले पनि मन पराउँदैन । आफ्नै जिद्दी छोरालाई मृत्युुदण्ड दिने तरिकाको बारेमा वर्णन गर्दै त्यसमा लेखिएको छ, ‘यदि कसैको छोरा जिद्दी र विद्रोही छ, उसले आफ्नो बुवाले या आमाले भनेको सुन्दैन, उसलाई ऊभन्दा ठूलाहरूको माझमा ल्याएर सबैलाई ढुङ्गा हान्न लगाउनुपर्छ ताकि ऊ मरोस् ।

त्यस्तै लेभिटिकस २०ः१५ एनएलटीमा लेखिएको छ, ‘यदि मान्छेले कुनै जनावरसँग यौनसम्पर्क गरेमा त्यो मान्छेलाई मृत्युदण्ड दिइनुपर्छ र जनावरलाई पनि मारिनुपर्छ ।’

बाइबल नमान्नेहरूलाई श्राप दिँदै ड्युटेरोनोमीमा भनिएको छ, ‘तिमीलाई बिहे गर्न लगाइनेछ, तर तिम्रो श्रीमतीलाई अर्कैले लगेर बलात्कार गर्नेछ, तिमीले घर बनाउनेछौ तर तिमी त्यसमा बस्न पाउनेछैनौ, तिमीले रुख लगाउनेछौ तर त्यसको फल खान पाउनेछैनौ, तिम्रो गोरु तिम्रो आँखा अगाडि मारिनेछ तर तिमीले खान पाउनेछैनौ । तिम्रो गधा अरूले लैजाने छन् र र फिर्ता गर्ने छैनन् । तिम्रा भेडाहरू शत्रुले लैजानेछन् तर कसैले तिनीहरूलाई बचाउनेछैनन्, तिम्रा दुईवटै घुँडाहरूमा तातोपानी खन्याएर त्यसको छाला काढिनेछ । तिम्रो पैतालादेखि टाउकोसम्म त्यस्तै गरेर कहिल्यै निको नहुने घाउ बनाइनेछ ।’

अर्को धर्मलाई यसरी सत्तोसराप गर्ने बाइबललाई उदारमना क्रिस्चियनले मन पराउने कुरै भएन ।

 

प्रतिक्रिया