प्रचण्ड र मधेसी मोर्चाबीच सहमतिः संविधान संशोधनपछि चुनावमा जाने

प्रचण्ड र मधेसी मोर्चाबीच सहमतिः संविधान संशोधनपछि चुनावमा जाने

काठमाडौं: शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेशी मोर्चाका शीर्ष नेताले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ ।

प्रचण्ड र मधेसी मोर्चाका नेताबीचको बैठकमा सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन सम्बन्धि प्रस्ताव पारित भएपछि मात्र चुनावमा जाने सहमति भएको छ ।prachanda_meeting-5867622c180091-17334523

मोर्चाका एक सदस्य केशव झाका अनुसार संविधान संशोधन सम्बन्धि प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको छ ।

बैठकले संसदमा दर्ता संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धि कार्यतालिका निश्चित गर्ने समझदारी समेत गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी नेतालाई संविधान संशोधन नभएसम्म निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउने आश्वासन दिएका छन् । प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै बैठकमा सहभागी नेता झाले भने, ‘संविधान संशोधन नभएसम्म निर्वाचनको प्रक्रिया अघि नबढाउने कुरामा ढुक्कहुनुहोस् ।’

प्रधानमन्त्री निवासको बैठकमा प्रधानमन्त्री प्रचण्ड, मधेशी मोर्चाका नेता महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवलगायत सहभागी थिए ।

सरकारले गत मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव सम्बन्धी विधेयक दर्ता गरेपछि एमालेसहितका विपक्षी दलले संसद्मा अवरोध गर्दै आएका छन् । यस अघि मोर्चाले समेत संविधान संशोधन प्रस्ताव परिर्माजन गर्नुपर्ने बताउदै आएको थियो । यद्यपी बिहीबार र शुक्रबार बसेको संयुक्त मधेसी मोर्चाको बैठकले संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचनमा जाने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया