शिक्षक अभाव टार्न भर्चुअल कक्षा, पहिलो चरणमा सय विद्यालयमा लागू

शिक्षक अभाव टार्न भर्चुअल कक्षा, पहिलो चरणमा सय विद्यालयमा लागू

भक्तपुर – चालु शैक्षिक सत्रसंगै शुरु गर्ने योजना अनुसार तय भएको भर्चुअल कक्षा आईतबारबाट बल्ल सञ्चालन गरिएको छ । शिक्षा मन्त्री धनिराम पौडेलले उक्त कक्षाको उद्घाटन गरेका हुन् । शैक्षिक जनशक्ति विकास केन्द्र (एनसिइडी) सानोठिमीको श्रव्यदृष्य स्टुडियोबाट मन्त्री पौडेलले कक्षाको उद्घाटन गरेका हुन् ।

तत्कालको लागि उपत्यका बाहेक भुकम्प प्रभावित ११ जिल्लाका एक सय वटा विद्यालय भर्चुअल कक्षामा जोडिएका छन् । अब शैक्षिक जनशक्ति विकास केन्द्रको श्रव्यदृष्य स्टुडियोबाट विषयगत शिक्षकले पढाएको कुरा भुकम्प प्रभावित एक सय वटा सामुदायिक विद्यालयका विद्यार्थीले आ आफ्नो कक्षा कोठामा रहेको टेलिभिजनको पर्दामा प्रत्यक्ष हेर्न र सिक्न सक्नेछन् ।

कक्षाको उद्घाटन गर्दै मन्त्री पौडेलले विद्यालय शिक्षामा पढाईको गुणस्तर वृद्धि गर्ने उद्देश्यले भर्चुअल कक्षाको शुरुवात गरिएको बताए। कार्यक्रमको प्रभाव तथा विद्यालयको तत्परतालाई हेरेर देशभरी विस्तार गर्न सकिने उनको भनाई थियो ।

यो माध्यमबाट अबको एक महिनासम्म कम्तिमा पनि अंग्रेजी, गणित र विज्ञान विषयको पढाई हुने केन्द्रकी कार्यकारी निर्देशक देवकुमारी गुरागाईंले जानकारी दिईन् । त्यसको लागि विषयगत शिक्षकहरुको छनौट गरिसकेको र केही समयपछि नै थप एक सय विद्यालयलाई पनि यो प्रविधिमा जोड्ने केन्द्रले जनाएको छ ।

मन्त्री पौडेलले केही वर्ष भित्रमै देशैभरीका माध्यमिक तहका सबै विषयको पठन पाठन यो प्रविधि मार्फत गर्ने तयारीमा मन्त्रालय लागेको पनि जानकारी दिए ।

विषयगत शिक्षक अभाव टार्न शिक्षा मन्त्रालयले यसै शैक्षिक सत्रदेखि प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात् ’भर्चुअल कक्षा’ शुरु गर्ने योजना बनाएको थियो । केन्द्र मार्फत् सञ्चालन गर्ने उक्त योजना अनुसार विद्यालयमा आवश्यक सबै सामग्री पाँच महिना अघिनै जडान गरी सकिएको थियो । कक्षाका लागि ५० इञ्चको टेलिभिजन, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर, एडप्टर, इन्टरनेट डिभाइस, क्यामरा लगायतका उपकरण विद्यालयमा जोडिएको छ ।

तर केन्द्रले आवश्यक तदारुकता नदेखाउँदा टेलिभिजन मार्फत् पढाई हुने भर्चुअल कक्षा सञ्चालनमा ढिलाई भएको भन्दै आलोचना हुँदै आएको थियो ।

भूकम्प प्रभावित जिल्लाहरुमध्ये यो वर्ष काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, सिन्धुली, दोलखा, रसुवा र ओखलढुंगामा सो प्रविधिबाट पठनपाठन गर्न लागेको केन्द्रले जनाएकाृे छ ।

केन्द्रले सिन्धुपाल्चोकका १२, गोरखाका १०, सिन्धुलीका १०, मकवानपुरका ९, रामेछापका ८, ओखलढुंगाका ७, दोलखाका ८, नुवाकोटका १०, धादिङका ११, काभ्रेपलाञ्चोकका १३ र रसुवाका २ विद्यालय छनोटमा परेको जनाएको छ ।

उक्त प्रविधि मार्फत कक्षा सञ्चालनका लागि केन्द्रले एक सय विद्यालयका १ १ जना शिक्षकलाई तालिम पनि दिइसकेको छ । सानोठिमीस्थित केन्द्रको कार्यालयमा ‘भर्चुअल लर्निङ स्टुडियो’ पनि बनिसकेको छ । काभ्रे, धनुषा र तनहुँका शैक्षिक तालिम केन्द्रमा पनि ल्याब बनाइएको छ । विद्यालय–विद्यालयमा भर्चुअल सेण्टर बनिसकेको छ  ।

एडु खवरमा खवर छ ।

प्रतिक्रिया